जब पालिका अध्यक्ष बिष्ट नै दिनदुखीका घरमा दशैँ लिएर घर—घरमा पुगे…



जब पालिका अध्यक्ष बिष्ट नै दिनदुखीका घरमा दशैँ लिएर घर—घरमा पुगे…

भालुवाङ १८ असोज । विगतका वर्षहरुमा चाडपर्वहरु आउँदा निराश हुने राप्ती गाउँपलिकाका अति बिपन्न, बेसाहारा, दिनदुखी र शहिद परिवारहरु यस वर्षको चाडपर्वमा भने निकै हर्षित भएका छन् । प्राय दैनिक हातमुख जोर्न समेत मुस्किल हुने उनीहरुलाई यस बर्ष घरमै दशैँ मनाउने पैसा पाउँदा निकै हर्षित भएका हुन् ।

दाङ—देउखुरी स्थीत राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफूले प्राप्त गरेको सेवा सुविधा त्यस्ता अति बिपन्न, बेसाहारा, दिनदुखी र शहिद परिवारहरुलाई घरमै पुगेर खाद्यान्न तथा आर्थिक सहयोग गरेपछि उनीहरू निकै हर्षित भएका हुन् ।

दैनिक गुजरा चलाउन धौ-धौ भएको बेला चाडपर्व आउँदा त झनै चिन्ता लाग्थ्यो । तर यस वर्ष सहयोग पाउँदा आफूहरु निकै खुसी भएको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया नयाँबस्ती की अखीली घर्तीले बताइन् ।

गत बर्षको दशैँमा छोरीहरुले खर्च पठाउँदा बल्ल दशैँ मनाउन पाएको पिडा सुनाउँदै अखिलीले यस बर्ष भने पालिका अध्यक्ष बिष्टले दिएको पैसाबाट दशै बनाउने बताइन् । पैसा लिँदै अखिली निकै भक्कानिन् । आज छोरा नै घरमा आएको जस्तो अनुभव भएको छ, उनले भनिन् । त्यति मात्र होइन उहाँले यो उमेरमा पाएको दुखको भारी नै बिसाइन् ।

यस्तै सोही वडाको मसुरियामा बस्ने ६९ बर्षीय केशबराज आचार्य पनि यस बर्ष कसरी दशैँ मनाउने भन्ने चिन्तामा थिए । उनी संग न त दशैँ मनाउन पैसा थियो, न त दशैँ मनाउने कुनै उपाय नै थियो । तर सोमबार एकाएक पालिका अध्यक्ष बिष्ट उनको घरमा पुगेपछि उनका लागि ठुलै दशैँ नै आए जस्तो भयो ।

आचार्यका घरमा कमाउने कोही नहुँदा उनलाई दशैँ मात्र होइन दैनिक गुजारा नै चलाउन समस्या छ । तर अध्यक्ष बिष्टले दशैँ जस्तो चार्डमा प्रत्येकका घरमा खुसी हुँदा उनलाई दशैँ नै मनाउन समस्या भएको भन्दै तीन हजार रुपैयाँ प्रदान गरे । दशै मनाउने पैसा पाए पछि आचार्य एकदमै खुसी हुँदै अध्यक्ष बिष्टलाई आर्शिबाद समेत दिए ।

उनीहरु मात्रै हैन उनीहरु जस्तै समस्यामा परेका राप्ती गाउँपालिकाका १ नम्बर वडा देखि ८ सम्म प्रत्येक वडामा तीन घरका दरले २३ घर परिवारमा पुगेर अध्यक्ष बिष्टले सहयोग रकम प्रदान गरेका छन् । सहयोग लिंदै उनीहरुले आफ्नो समस्या संगै खुसी यसरी ब्यक्त गरे ।

अधयक्ष बिष्टले कुल २३ घरपरिवारलाई ४८ हजार ३ सय रुपैयाँ सहयोग गरेको अध्यक्षका राजनीतिज्ञ सल्लाहकार तथा राप्ती गाउँपालिका वडा नं. २ का पुर्व वडा अध्यक्ष जगतबहादुर थापाले जानकारी दिए ।

केही वडाहरुमा अझै त्यस्ता घरपरिवारहरु बाँकी रहेको बताउदै उहाँहरुलाई पनि घरमै पुगेर सहयोग हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष विष्टले बताए । त्यस्तै अध्यक्ष विष्टले आफुले प्राप्त गरेको सेवा सुविधाबाट त्यस्ता घरपरिवारलाई सहयोग गर्न पाउँदा आफू निकै खुशी भएको बताए ।

उहाँले आफू सधै जनताका हरेक दुखमा साथमा रहेको बताए । उनले आफू निर्वाचनका समयमा जनता संग गरेको बाचा अनुसार सरकारले दिएको सेवासुविधा नलिई त्यो रकम गरिब, दुखी जनतालाई प्रदान गर्ने बाचा पुरा गर्न थालेको बताए ।

अध्यक्ष विष्टले जनप्रतिनिधि नहुँदा समेत विगतका वर्षहरुमा जनप्रतिनिधिहरुलाई नै चुनौती दिंदै समस्यामा रहेका घरपरिवारलाई यसरी नै सहयोग गर्दै आईरहेका थिए ।

अध्यक्ष बिष्टको यो उदाहरणीय कार्यलाई यति बेला राप्तीबासीले खुलेरै प्रशंसा गर्न थालेका छन् । त्यसैले अध्यक्ष बिष्टको यो महान् कार्यको सिको अन्य जनप्रतिनिधिहरुले पनि गर्न जरुरी छ ।

समाचारकाे पुरा भिडियाे हेर्न यसमा क्लिक गर्नु हाेला । https://www.facebook.com/100021118542431/videos/776660736953085/

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे