देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली, दशैँको तीन दिन केही ठाउँमा ठूलो वर्षाको सम्भावना
काठमाण्डाै १५ असाेज । आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।
कर्णाली प्रदेशको एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान छ ।
प्रदेश एक, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशका पहाडी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन सरदर अक्टोबर २ अर्थात भोलिदेखि बाहिरिने भए पनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने मौसमविद्ले बताएका छन् ।
यता दशैँको मुख्य दिनमा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले दशैँको लागि विशेष मनसुन बुलेटिन सार्वजनिक गर्दै चारवटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको हो ।
महाशाखाकाअनुसार आउँदो बुधवार विजयादशमीदेखि शुक्रवार द्वादशीसम्म लुम्बिनी, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा भारी वर्षाको सम्भावना छ।
आउँदो मङ्गलवार महानवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश-१, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बुधवार विजयादशमीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महशाखाकाअनुसार बिहीवार एकादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा बाँकी प्रदेशहरूका केही ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै ठाउँहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
शुक्रवार द्वादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
यी दिनहरूमा पहाडी भेगमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
नेपालमा मनसुन सरदर अक्टोबर २ अर्थात भोलिदेखि बाहिरिने भएता पनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने मौसमविद्ले यसअघि नै भनिसकेका छन् ।