स्थायी राजधानी देउखुरीको नवनिर्मित प्रदेशसभाहलमा पहिलो कार्यक्रम, एमालेका सांसदद्धारा बहिष्कार



स्थायी राजधानी देउखुरीको नवनिर्मित प्रदेशसभाहलमा पहिलो कार्यक्रम, एमालेका सांसदद्धारा बहिष्कार

भालुवाङ १४ असोज । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको प्रदेशसभा भवनमा औपचारिक कार्यक्रमको शुरुवात भएको छ । नव निर्मित भवनमा लुम्बिनी प्रदेशसभाका सदस्यहरुलाई प्रदेश सभा सचिवालयले सम्मान गरेको छ । पाँचबर्षे कार्यकालको अन्तिम चरणमा पुगेपछि चाडपर्वलाई लक्षित गर्दै प्रदेश सभा सचिवालयले सम्मान गरेको हो ।

प्रदेशसभाका सबै सदस्यहरुले सम्मान गर्ने कार्यक्रममा आधा प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो । प्रदेशसभाका सदस्यहरुको सम्मान तथा शुभकामना आदान—पदान कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाले पाँच बर्षे कार्यकालमा आफ्नै भवनमा प्रदेशसभा बैठक राख्न नसकेपनि प्रदेशसभा भवन निर्माण गर्ने पहिलो प्रदेश बन्दै अन्त्मि कार्यकालमा शुभकामना तथा सम्मान कार्यक्रम राख्न सफल भएकोमा प्रदेश सरकार र प्रदेशसभा सचिवालयलाई धन्यवाद दिए ।

 

प्रदेश प्रमुख शेरचनले नेपालको जस्तो शासन प्रणाली मूलुकका कुनैपनि मुलकमा नभएको भन्दै शासन प्रणाली र व्यवस्था प्रति अनावश्यक टिप्पणी उपयुक्त नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कहिं कतै राजनीतिक दलहरुले शासन व्यवस्था माथि धावा बोलेको सुनिन्छ,तपाईहरु ढुक्क हुनुस, यो बर्तमान व्यवस्थाको विकल्पमा पुरानै व्यवस्था होइन सम्भव पनि छैन ।’

यस्तै कार्यक्रममा बिशिष्ट अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघस्य लोकतान्त्रिक गणतनन्त्रको लागि हजारौको वलिदान र ठूलो त्यात तपस्या रहेको स्मरण गराउँदै कसैले लहड र रहरमा व्यवस्था परिवर्तनको कुरा गर्नु ठट्टा बाहेक केहि नहुने बताए । लुम्बिनी प्रदेशसभा भवनमा मा भएको यो पहिलो औपचारिक कार्यक्रम हो । स्थायी राजधानी दाङ—देउखुरीमा भएको कार्यक्रममा स्थानीयले पनि चासोका साथ लिएका थिए ।

प्रदेश सभाको पाँच वर्षे कार्यकालमा पेस भएका ८२ मध्ये ७२ वटा विधेयक पास भएका छन् । चार वटा विधेयक सभामा पेस हुन पाएनन् । यस्तै तीन वटा विधेयक विचाराधीन छन् ।

यता एमालेका सांसदहरुले भने कार्यक्रम नै बहिष्कार गरेका थिए । उक्त कार्यक्रममा एमालेका सांसदहरुको उपस्थित समेत भएका थिएनन् । प्रदेश सभाका सभामुख पूणर्बहादुर घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा सांसद कृष्ण गिरी, दुलर्भ मगर र तारा जिसी लगायतका सांसदले आफ्नो भनाई राखेका थिए । सो अवसरमा कार्यक्रममा उपस्थित करिब दुई दर्जन सांसदहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

सत्ता पक्षका मन्त्री र सांसद नै अनुपस्थित

प्रदेश सभा सचिवालयकाे कार्यक्रममा सत्ता पक्षका मन्त्री र सांसद नै उपस्थित भएनन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका सांसद र मन्त्री मात्रै देखिए । नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियासमेत कार्यक्रममा आएनन्  ।

रुपन्देही, पाल्पालगायतका जिल्लाबाट प्रतिनिधित्व गर्ने कांग्रेसका मन्त्री र प्रदेश सभा सदस्य नै देखिएनन् । दाङका राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र प्रदेश सभा सदस्य शंकर गिरी भने कार्यक्रममा सहभागी थिए ।

प्रदेश सभामा ८० जना सदस्य छन् । जसमा नेकपा एमालेका ३६, नेकपा माओवादी केन्द्रका १८, नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टी नेपालका चार, राष्ट्रिय जनमोर्चामा एक र स्वतन्त्र एक गरी ८० जना छन् । तर कार्यक्रममा सात जना मन्त्री र १५ जना प्रदेश सभा सदस्य मात्रै उपस्तिथ थिए ।

प्रदेशमा १३ जना पूर्ण मन्त्री र तीन जना राज्यमन्त्री गरी १६ जना मन्त्री छन् । जसमध्ये आधा मन्त्री पनि कार्यक्रममा देखिएनन् । कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसी, कानुन मन्त्री तिलकराम शर्मा, अर्थ मन्त्री कृष्णध्वज खड्का, स्वास्थ्य मन्त्री इन्द्रजीत थारु, उद्योग मन्त्री अजयबहादुर शाही, आर्थिक मामिला राज्यमन्त्री सुस्मा यादव र ऊर्जा राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ मात्रै सहभागी हुनु हुन्थ्याे । बाँकी अन्य मन्त्री र राज्यमन्त्री देखिएनन् ।

नेकपा एमालेले प्रदेश सभाको कार्यकाल सकिएको अवस्थामा कार्यक्रम राख्नुको औचित्य नभएको भन्दै बहिष्कार नै गर्‍याे । नेपाली कांग्रेसले घोषितरूपमा कार्यक्रमा बहिष्कार नगरे पनि उसका धेरैजसाे प्रदेश सभा सदस्य देखिएनन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे