नमूना संकलन देखि कार्बाही सम्म, देउखुरीको गढवामा बजार अनुगमन



नमूना संकलन देखि कार्बाही सम्म, देउखुरीको गढवामा बजार अनुगमन

शिबराज पन्थी, गढवा २८ कार्तिक ।

चाडपर्वलाई लक्षित गरी गढवा गाउँपालिका र स्थानीय खाद्य अधिकार संञ्जालको पहलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले देउखुरीको गढवा बजारका केही खाद्यान्न पसलहरुमा बिहिवार अनुगमन गरिएको छ । अनुगमनको क्रममा ६ वटा पसलहरुबाट डेट गएका सामानहरु जफत गरिएको छ, भने एउटा पसलबाट लेभल नलगाएर बिक्री गर्न राखिएको तेल को नमुना संकलन गरी प्रयोगशालामा पठाइएको छ ।

अनुगमनको क्रममा दुलारे किराना पसलबाट बिगएको तराजुबाट उपभोक्ताई ठगी गरिएको पाइएकोले तराजु, ढुंगाको ढक र लेभल नभएको सस बरामद गरिएको छ, भने गुप्ता किराना पसलबाट डेट गएको र किराले खाएको १० किलो केराऊको दाल र ४ किलो मिक्सदाल जफत गरिएको अनुगमन टोलीले जनाएको छ ।

यसैगरी कसौधन जनरल स्टोरमा म्याद गुजे्रको पाँच थैली आटा, नमकिन प्याकेट तथा लेभल नै नलगाई बिक्रीगर्न राखिएको तेल जफत गरिएको छ । तेलको मुचुल्का सहित शिलबन्दी गरी नमूना संकलन गरेर नेपालगंज स्थित प्रयोगशालामा परिक्षणका लागि पठाइएको छ, भने प्रतिज्ञा जनरल स्टोरबाट २० पाकेट मसला,राजु किराना पसलबाट डेट गएर बिग्रिएको झण्डै ३ किलो नरिवल र ६ किलो ९ सय ग्राम छ्वारा र राहुल किराना पसलबाट म्याद गुजे्रको ३२ पोका बेसन बरामद गरिएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनको क्रममा कौशल जनरल स्टोर, आस्मा किराना पसल,पुनम किराना पसल र राजेश किराना पसलमा भने म्याद नाघेको कुनैपनि सामान नभेटिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले बताएको छ ।

एकाध बाहेक अधिकांश पसलहरुमा दररेट सुची नभएको,खाद्य र अखाद्य सामाग्री एकैथलोमा राखेर बिक्री गरिएको, कतिपय पसलहरुले सडकको बाहिर सम्म सामान राखेर धुलाम्य पारी बिक्री गरिरहेको र कैयन पसलहरु गाउँपालिका वा घरेलु कार्यालयमा दर्ता नगरेरै चलाएको पाइएकोले उनिहरुलाई तत्काल सुधार गर्न र स्थानीय सरकारमा दर्ता गरेर मात्र ब्यवसाय संचालन गर्न सुझाव दिइएको इलाका प्रशासन कार्यालय लमहीले जनाएको छ । अनुगमनको क्रममा जफत गरिएका सामाग्रीहरु टोलीको रोहवरमा इलाका प्रहरी कार्यालयको परिसरमा जलाएर नष्ट गरिएको छ ।

अनुगमन टोलीमा गढवा गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन संयोजक शान्ती चौधरी, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका प्रमुख बिबेक बन्जारा, इलाका प्रशासन कार्यालय लमहीका प्रतिनिधि बामदेव गिरी, वडा नं. ६ का वडाध्यक्ष बालचन्द्र ठकूरी हमाल, इलाका प्रहरी प्रमुख गढवाका प्रहरी निरीक्षक राजकुमार भट्ट सहितको टोली, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रबिलाल आचार्य, स्थानीय खाद्य अधिकार संजालका अध्यक्ष उमाकान्त पन्त, गाउँपालिकाका प्रशासन शाखाका प्रमुख पुनाराम शर्मा, पशुसेवा शाखाका अधिकृत हेमराज आचार्य र पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे