रुसमा आशिंकरूपमा सेना परिचालन गर्ने पुटिनको घोषणा



रुसमा आशिंकरूपमा सेना परिचालन गर्ने पुटिनको घोषणा

एजेन्सी । रुसमा आंशिकरूपमा सेना परिचालन गरिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आंशिकरूपमा सेना परिचालन गर्ने घोषणा गरेका छन् । युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको भनाइ छ । ‘मैले मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रीय एकता बलियो बनाउन र यहाँमा मानिसको सुरक्षालाई ध्यान दिदै आंशिकरूपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर रहेको हुँ’, उनले भने ।

उनका अनुसार देशमा आंशिकरूपमा सेना परिचालनको प्रस्ताव रक्षा मन्त्रालय र प्रधान सेनापतिले पठाएका थिए ।  राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले देशभरि आंशिकरूपमा सेना परिचालन गर्ने निर्णय आजैदेखि लागू हुने पनि जानकारी दिए । उनले दोहोर्‍याउँदै भन्नुभयो, ‘म फेरि पनि भन्छु, अहिले आंशिकरूपमा मात्रै सेना परिचालन गरिएको हो ।’ उनले शान्तिपूर्ण निकासका लागि किएभ तयार नभएको बताउँदै त्यही नै मुख्य समस्या भएको टिप्पणी गरे ।

सम्बोधनको सुरुमा राष्ट्रपति पुटिनले रुसलाई ध्वस्त पार्न पश्चिमी देशहरू सक्रिय भएर लागिरहेको आरोप पनि लगाए । ‘उनीहरू हामीलाई पहिला टुक्र्याउन चाहन्छन्, त्यसपछि ध्वस्त पार्न चाहन्छन्’, उनले सम्बोधनका क्रममा भने । पश्चिमी देशहरूले यसअघि सन् १९९१ मा तत्कालीन सोभियत सङ्घ रहेको बेलामा पनि त्यो कुरा सिधै भन्ने गरेको पनि उनले स्मरण गरे । रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म पनि युद्ध जारी नै रहेको छ । रुसले युक्रेनमा आक्रमण गरेकोप्रति पश्चिमी देशहरूले चर्को विरोध गर्दै आएका छन् । उनीहरूले रुसलाई एक्ल्याउन आह्वान गर्दै युक्रेनलाई सहयोग पनि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे