इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्यामले लेस्टर सिटीलाई ६–२ ले हरायो



इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्यामले लेस्टर सिटीलाई ६–२ ले हरायो

काठमाण्डाै २ असाेज । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले लेस्टर सिटीलाई ६–२ गोलको फराकिलो अन्तरले हराएको छ । घरेलु मैदानमा टोटनह्यामका लागि दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले ह्याट्रिक गरे ।

त्यस्तै ह्यारी केन, एरिक डाएर र रोड्रिगो बेन्टान्कुरले १/१ गोल थपे । लेस्टरका लागि युरी टिलेमान्स र जेम्स म्याडिसनले १/१ गोल गरे । लेस्टरले खेलको छैटौँ मिनेटमा टिलेमान्सको पेनाल्टी गोलमा अग्रता लिएको थियो । तर यो अग्रता २ मिनेट पनि रहेन ।

केनले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको २१औँ मिनेटमा डाएरले गोल गरी घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफको ४१औँ मिनेटमा म्याडिसनले गोल गरी खेल २–२ को बराबरीमा ल्याए ।

टोटनह्यामले खेलको दोस्रो हाफमा ४ गोल थप्यो । ४७औँ मिनेटमा बेन्टान्कुरले गरे । त्यसपछि मैदान प्रवेश गरेका ह्युङ मिन सनले ७३औँ मिनेट, ८४औँ मिनेट र ८६ औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे ।

उनी १३ मिनेट २१ सेकेन्डको अन्तरमा ह्याट्रिक गर्न सफल भएका छन् । जितसँगै टोटनह्यामको ७ खेलमा १७ अङ्क भएको छ । टोटनह्याम अङ्कतालिकाको दोस्रो स्थानमा छ । पराजित लेस्टर ७ खेलमा १ अङ्ककासाथ पुछारमा छ ।

इङ्ग्लिस प्रिमियर लिगमा हिजो भएको अर्को खेलमा न्युक्यासल युनाइटेड र बर्नमाउथले एक/एक गोलको बराबरी खेलेका छन् । त्यस्तै म्यानचेस्टर सिटी उल्भ्सलाई ३–० गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको आर्सनल तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे