नेपाल टेलिकमले आजदेखि ई-सिम वितरण गर्दै
काठमाण्डाै ३१ भदाै । नेपाल टेलिकमले आजदेखि ई-सिम वितरण गर्दैछ । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण सुरु गरिने टेलिकमले जनाएको छ।
ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन् । अहिले फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई अहिलेको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ।
नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने छिट्टै यो सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले यो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ । ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो ।
ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई–सिम प्रयोगमा आएपछि सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।
मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा लगाउन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ । अहिलेका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई–सिम लिन सक्ने टेलिकमले जानकारी दिएको छ।