दाङमा पनि डेंगुका संक्रमित बढ्दो, ६३५ जनामा संक्रमण, सावधान अपनाउन दाङका सबै पालिकालाई निर्देशन



दाङमा पनि डेंगुका संक्रमित बढ्दो, ६३५ जनामा संक्रमण, सावधान अपनाउन दाङका सबै पालिकालाई निर्देशन

दाङ २८ भदौ । दाङमा साउनयता डेंगु रोगका बिरामीको संख्या दिनप्रति दिन बढ्दै गएको भन्दै संक्रमण फैलिनबाट रोक्नका लागि सबै पालिकाहरुलाई निर्देशन दिएईको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लाका १० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु र पालिका प्रमुखहरुलाई डेंगु रोग नियन्त्रणका लागि सावधान अपनाउन निर्देशन दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार संक्रमित लामखुट्टे जताकतै जानसक्ने भएकोले सबैलाई सर्तकता अपनाउनुका साथै संक्रमण फैलिएका स्थानमा लामखुट्टेको बास स्थान खोज्ने र नष्ट गर्ने कार्यक्रमहरु संचालन गर्न निर्देशन दिएका छन् ।

जिल्लामा साउन १ गतेदेखि यता ६ सय ३५ जनामा डेंगी रोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालय दाङका डेंगु रोग फोकल पर्सन देवराज डाँगीले बताए । जिल्लाका पाँच स्थानीय मध्य सबैभन्दा बढी संक्रमण घोराही उपमहानगरपालिकामा ३१५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा १८ जना, लमही नगरपालिकामा ९ जना, राप्ती गाउँपालिकामा ३ जना र गढवा गाउँपालिकामा एक जना संक्रमित रहेका छन् । अन्य बबई, शान्तिनगर, राजपुर, बंगलाचुली र दंगीशरण पालिकामा भने डेंगी रोगको संक्रमण नदेखिएको फोकल पर्सन डाँगीले जानकारी दिए ।

जिल्लामा डेंगु रोग फैलिन थालेपछि दश वटै स्थानीय तहलाई पत्राचार गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । डेंगु संक्रमण पुष्टि भएका पालिकाहरुले लामखुट्टेको बास स्थान खोजि गर्ने र लार्भा नष्ट गर्ने कार्यक्रम संचालन गरेको फोकल पर्सन डाँगीले बताए । जिल्लाका विभिन्न अस्पतालमा अहिले डेंगु रोगका लक्षण देखा परेका बिरामीहरु उपचार गर्न आउनेहरुको भिडभाड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे