दिउँसो पानी पर्ने सम्भावना
काठमाण्डाै २६ भदाै । काठमाण्डौ उपत्यका सहित देशका धेरै ठाउँमा घाम लागेको छ । तर, बिहानै घाम लागे पनि फेरि बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार केही समयपछि नै मौसम बदली हुने सम्भावना छ । आज दिउँसोपछि धेरैजसो पहाडी क्षेत्रमा पानी पर्ने अनुमान गरिएको छ ।
तराईका जिल्लामा भने थोरै ठाउँमा मात्रै पानी पर्ने अनुमान रहेको मौसमविद् प्रधानाङ्गले बताए । उनका अनुसार दिउँसो आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै, राति सुदूरपश्चिम र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ ।
आज भन्दा भोली र भोली भन्दा पर्सि झन् धेरै ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ । पर्सी देखि मनसुनी गतिविधि थप सक्रिय हुने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार मनसुनसँगै बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालमा वर्षा भइरहेको हो ।