ट्रकमा च्यापिएर सह-चालकको मृत्यु, एकतर्फी सडक सञ्चालन



ट्रकमा च्यापिएर सह-चालकको मृत्यु, एकतर्फी सडक सञ्चालन

दाङ २२ भदौ । दाङको घोराही–लमही सडकखण्डमा पर्ने भैंसी बगाउने खोलामा ट्रक पल्टिदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देही रोहिनी गाउँपालिका– ६ का अन्दाजी २५/२६ वर्षीय सखर खाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले जानकारी दिए ।

बुधबार दिउँसो सवा १ बजेतिर घोराहीबाट भैंसीको छाला लोड गरेर बिराटनगर जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही उपमहानगरपालिका ३ भैंसी बगाउने खोलामा पल्टिएको थियो । ट्रक पल्टिदा सह-चालक च्यापिएका थिए भने सडक अवरुद्ध भएको थियो । जेसिवीको सहायताले सहचालकको शव निकालेर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

सडक अहिले एकतर्फी रुपमा खुलेका डिएसपी गौतमले जानकारी दिए । ब्रेक फेल भएर ट्रक पल्टिएको हुन सक्ने प्रहरीले बताएको छ । तर ट्रकका चालक फरार रहेकाले अन्य कुरा खुल्न नसकेको प्रहरीले बताएको छ । चालकको खोजी कार्य जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे