तुलसीपुरका १९ वटै वडाबाट बुधबारदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने



तुलसीपुरका १९ वटै वडाबाट बुधबारदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने

तुलसीपुर २१ भदौ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका दश स्थानीय पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । बुधबारदेखि तुलसीपुर उपमहानगरपालिकाको १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो ।

मंगलबार जिल्ला प्रशासन कार्यालय दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहआयोजनामा तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका वडा सचिवहरु तथा वडाध्यक्षहरुलाई राष्ट्रिय परिचयपत्र अभिमखिकरण तथा तालिमको आयोजना गरेर जानकारी दिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रशासन कार्यालय लमहीबाट राष्ट्रिय परिचयपत्र वितरण गर्दै आएको थियो ।

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार जिल्लाका १० वटै स्थानीय तह मध्यबाट संख्यात्मक चाप बढी हुने पालिकालाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिकालाई पहिलो प्राथमिकतामा राख्दै मंलगबारदेखि सुरु गरेको छ । त्यस्तै दश स्थानीय तहमा राष्ट्रिय परिचयपत्र वितरण गर्नेमा तुलसीपुर उपमहानगरपालिका दोस्रो रहेको छ । अन्य आठ वटा स्थानीय तहमा पनि विस्तार सो कार्यक्रम लागु हुदै जाने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

वडाहरुमा खटिने राष्ट्रिय परिचयपत्र वितरण गर्नका लागि प्रशासनले प्रत्येक वडामा दुई वटा कर्मचारीका दरले खटाउने बताएको छ । राष्ट्रिय परिचयपत्र बनाउनका लागि सर्वप्रथम ‘डिजिटल फारम’ भर्नु पर्ने, त्यसका लागि नागरिकता वा नागरिकता नभएको खण्डमा पासपोर्ट आवश्यक पर्ने हुन्छ ।

यसअघि राष्ट्रिय परिचयपत्र बनाइसकेका वा फारम भरेकाको हकमा भने राष्ट्रिय परिचयपत्र कार्ड छिट्टै पाउने र वडा तहबाट संचालन भएको राष्ट्रिय परिचयपत्र वितरण फारम भरेकाको एक महिनामा अद्ययावधीक भएपनि कार्ड पाउन भने एक वर्ष लाग्ने राष्ट्रिय पंजिकरण शाखाका प्राविधिक विपिन आर्चायले जानकारी दिए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले वैदेशिक रोजगारमा जानेका हकमा भने आफूलाई पाएक पर्ने इकाला प्रशासन कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा गएर राष्ट्रिय परिचय पत्र बनाउन सकिने बताए । जिल्ला प्रशासन वा इलाका प्रशासनबाटमात्रै काम हुँदा सेवाग्राहीको चाप बढेपछि नागरिकको सहजताका लागि तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचय पत्र वितरण गर्न लागेको प्रजिअ हिरालाल रेग्मीले जानकारी दिए । साथै प्रजिअ रेग्मीले नागरिकतामा उल्लेख भएका ‘अस्वभनिय’ नामलाई परिवर्तन गर्न सकिने समेत बताएका छन् ।

त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले राष्ट्रिय परिचयपत्र वितरण कार्य जिल्लाका दश वटै पालिकाबाट गर्न लागेको बताइन् । जिल्लाका दुई पालिकाबाट सुरु गरेको बताउदै अन्य पालिकामा पनि छिट्टै सुरु गर्ने प्रक्रियामै रहेको बताइन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले पालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थाल्नी गरेकोमा जिल्ला प्रशासन कार्यालयलाई धन्यावाद दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर खड्काले तुलसीपुर उपमहानगरपालिकाका कतिपय वडाहरु विकट भएकोले इलाका प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आउने समस्या, घण्टौसम्म लाइनमा बस्नु पर्ने बाध्यता थियो, अब यसको अत्य हुने बताए ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यता, उपप्रमुख स्यानी चौधरीको विशिष्ट आतिथ्यतामा भएको थियो । सहायक प्रजिअ सावित्रा पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले गरेका थिए ।

त्यस अवसरमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आइटी प्राविधिक दाङ प्रमुख विपिन आचार्यले वडा सचिव र जनप्रतिनिधिलाई राष्ट्रिय परिचयपत्रको लागि आवश्यक जनशक्ति व्यवस्थापन, भौतिक सामग्रि, परिचयपत्रको आवश्यकता लगायतका विषयमा अभिमुखिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे