देउखुरीकाे राप्ती प्राविधिक शिक्षालयमा प्राधिकरणको कार्यालय स्थापना गर्ने तयारी



देउखुरीकाे राप्ती प्राविधिक शिक्षालयमा प्राधिकरणको कार्यालय स्थापना गर्ने तयारी

प्रदेशसभा सञ्चालन गर्न छुट्टै सभाहल चाहिन्छ, प्रदेशसभा सचिव – पुन

भालुवाङ २४ कार्तिक । देउखुरीकाे राप्ती प्राविधिक शिक्षालयमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय प्राधिकरणको कार्यालय स्थापना गर्ने तयारी भएकाे छ ।

राप्ती प्राविधिक शिक्षालय व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गर्न शिक्षालय भित्रको भौतिक पूर्वाधार प्रयोग गर्न दिनको लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तथा शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष जयनारायण आचार्यले जानकारी दिए।

‘सिटिइभिटी र मुख्यमन्त्री कार्यालयकोबीचमा समन्वय भएर यो टुंगिने विषय भएकाले हामीले अनुरोध गर्ने निर्णय गरेका छौँ’प्रजिअ आचार्यले भने,‘दुईवटा भवन प्रयोग गर्न दिनको लागि अनुरोध गर्ने निर्णय गरेका छौँ।’

पूर्वाधार विकास प्राधिकरणको कार्यालय शिक्षालय भित्र स्थापना गर्ने तयारी भएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए। ‘शिक्षालय व्यवस्थापन समितिको बैठकबाट पूर्वाधार विकास प्राधिकरणको कार्यालय राख्न शिक्षालयको भवन प्रयोग गर्न दिने निर्णय भएको छ’उनले भने,‘अब तिहारपछि पूर्वाधार विकास प्राधिकरणको कार्यालय यहाँ आउने छ ।’

पूर्वाधार विकास प्राधिकरणले मास्टर प्लान बनाउने योजनालाई अघि बढाउने छ । मास्टर प्लान बनाउने कामको लागि सूचना प्रकाशन हुने छ । त्यसपछि मास्टर प्लान बनाउन विभिन्न खाले प्रस्तावहरु आउने छन् । ग्लोबल टेण्डर गरेर मास्टर प्लान बनाउने कम्पनीको खोजी हुने छ ।

‘सुरुमा त हामीले प्राधिकरणको कार्यालय राख्ने छौँ। त्यसपछि मास्टर प्यालनको काम अघि बढ्ने छ’पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत धुब्र मजगैयाँले भने,‘५० देखि सय वर्षलाई आधार मानेर मास्टर प्लानको योजना बनाइने छ ।’

महत्वपूर्ण काम राजधानीको मास्टर प्लान बनाउने र त्यसपछि पूर्वाधार निर्माणमा अघि बढिने मजगैयाँले जानकारी दिए । ‘कहाँ प्रशासनिक भवन बनाउने, मन्त्रालय कता राख्ने, प्रदेशसभा भवन कहाँ बनाउने यी सहित एउटा सुन्दर शहरलाई चाहिने सबै प्रकारका संरचना र सुविधा हुनेगरी मास्टर प्लान बन्छ’उनले भने–‘मास्टर प्लानको काम सकिएपछि पूर्वाधार बनाउन लाग्छौँ ।’

‘सदन बसाल्न छुट्टै सभाहल चाहिन्छ’

प्रदेशसभाको बैठकले असोज २० गते स्थायी राजधानी राप्ती उपत्यका(देउखुरी) र प्रदेशको नाम‘लुम्बिनी’ टुंगो लगायो ।

स्थायी राजधानीको टुंगो लागेसँगै राजधानीसँग जोडिएका प्रशासनिक कार्य देउखुरीबाट सञ्चालन गर्न नागरिक स्तरबाट माग भयो । त्यसपछि तत्काल सदन बसाल्न सक्ने पूर्वाधारको खोजी भयो ।

सबैको ध्यान राप्ती प्राविधिक शिक्षालयले तान्यो । सदन बसाल्न पुग्ने संरचना छ की छैन भन्ने बारेमा सभामुख पूर्णबहादुर घर्तीको नेतृत्वमा रहेको एक टोलीले अनुगमन समेत गर्‍यो ।

त्यसपछी फेरि प्रदेशसभा सचिव दुर्लभकुमार पुनको नेतृत्वको टोलीले अनुमगन गरेको छ । शनिबार भएको अनुगमनको क्रममा शिक्षालयले बनाएको सभाहललाई प्रदेशसभा बैठक राख्न उपयुक्त नभएकाले बैठक बसाल्न सभाहल बनाउनुपर्ने सुझाव दिइएको छ ।

‘शिक्षालय भित्रको पूर्वाधारहरु प्रदेशसभा सचिवालयको तर्फबाट अनुगमन गर्ने काम भएको छ’, प्रदेशसभा सदस्य ईन्द्रजीत थारुले भने,‘अहिले त्यहाँ रहेको सभाहलमा सदन बसाउन असजिलो हुने भएकाले छुट्टै सभाहल चाहिने सुझाव प्राप्त भएको छ ।’तीन महिना भित्र सभाहल निर्माण सकेर बैठक बसाल्न सकिने उनले बताए ।

यसैगरी राप्ती प्राविधिक शिक्षालयको जग्गा र पूर्वाधर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने र शिक्षालयलाई उचित स्थानमा स्थानान्तरण गर्ने प्रकृया टुंगो लगाउने अन्तिम तयारी भैरहेको थारुले जानकारी दिए। ‘जग्गा र पूर्वाधार प्रदेश सरकारमा आयो भने बनाउनुपर्ने पूर्वाधार बनाउने काम अघl बढ्छ’उनले भने,‘शिक्षालयको लागि पूर्वाधारको खोजी समेत भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे