कक्षा १२ काे नतिजा सार्वजनिक



कक्षा १२ काे नतिजा सार्वजनिक

काठमाण्डाै १७ भदाै । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरअघि बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गरेको बाेर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले गएको जेठ १६ गते देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले नयाँ ग्रेडिङ पद्धतिअनुसार नतिजा प्रकाशन गरेको जनाएको छ । ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको परीक्षा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याए ग्रेड सिटमा एनजी अर्थात् (नन ग्रेडिङ) उल्लेख हुने बोर्डका अध्यक्ष शर्माले जानकारी दिए ।

यस्तो व्यवस्था बोर्डले पहिलो पटक लागू गरेको हो । एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना पाउँदैनन् । दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ । सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या चार हजार एक सय ७९ रहेको छ । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउनेको सङ्ख्या ३० हजार एक सय सात जना, २.८१ देखि ३.२० जीपीए ल्याउनेको सङ्ख्या ६५ हजार दुई सय ८४ रहेको छ ।

परीक्षा बाेर्डका अनुसार २.४१ देखि २.८० जीपीए ल्याउनेको सङ्ख्या ६४ हजार ९३, २.०१ देखि २.४० जीपीए ल्याउनेका सङ्ख्या १० हजार नाै सय र १.६१ देखि २.० जीपीए ल्याउनेको सङ्ख्या ३५ मात्रै छ । नन ग्रेडिङ ल्याउनेकाे सङ्ख्या एक लाख ८८ हजार चार सय १० रहेकाे छ । यस पटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अङ्क ल्याउनुपर्ने बोर्डले जनाएको छ । त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ ।

यसरी हेर्न सकिन्छ नतिजा–

वेबसाइट:

राष्ट्रिय परीक्षा बाेर्डकाे वेबसाइट : www.neb.gov.np

नेपाल टेलिकमकाे वेबसाइट : www.neb.ntc.net.np

एसएमएस सेवा:

नेपाल टेलिकमकाे १६०० मा एमएमएस गर्ने तरिका : NEB <space> Symbol No. टाइप गरी १६०० मा एसएमएस गर्ने ।

आईभीआर सेवा:

नेपाल टेलिकमकाे १६०१ नम्बरमा डायल गरी प्राप्त नतिजाअनुसार नतिजा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे