संघ र प्रदेश सभा चुनावमा ४६ हजार कर्मचारी परिचालन हुने



संघ र प्रदेश सभा चुनावमा ४६ हजार कर्मचारी परिचालन हुने

काठमाडौं १५ भदौ । आमनिर्वाचनका लागि करिब दुई लाख ४६ हजार कर्मचारी परिचालन हुने भएका छन् । निर्वाचन आयोगका अनुसार यीमध्ये करिब ९८ प्रतिशत कर्मचारी मतदान केन्द्रमा परिचालन हुने छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान केन्द्रको सङ्ख्यामा निर्भर भए पनि करिब दुई लाख ४६ हजार ९६० जनशक्ति आवश्यक पर्ने जानकारी दिए । आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान केन्द्रको सङ्ख्या करिब २३ हजार ७०० हुने अनुमान गरेको छ ।

प्रत्येक मतदान केन्द्रमा ११ जना जनशक्ति हुने छन् । मतदान केन्द्रमा आठ जना कर्मचारी र तीन जना स्वयंसेवक राखिने आयोगले जनाएको छ । यसरी दुई लाख ४२ हजार कर्मचारी मतदान केन्द्रमै केन्द्रित हुने आयोगले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा एक हजार ४८५ कर्मचारी नियुक्त हुने छन् । यसबमोजिम प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा नौ कर्मचारी रहने छन् । निर्वाचन अधिकृतको कार्यालय घटे पनि मतदान केन्द्र र त्यसमा खटिने जनशक्ति थपिएको प्रवक्ता पौडेलले बताए ।

आयोगको केन्द्रीय कार्यालयसहित प्रदेश र जिल्लास्थित कार्यालयमा एक हजार जनशक्ति आवश्यक हुने जनाइएको छ । केन्द्रीय कार्यालयमा काजमा आउने तथा प्रदेश र जिल्लाका कर्मचारीसहित सचिवालयमा एक हजार कर्मचारी रहने प्रवक्ता पौडेलले बताए ।

त्यसैगरी मतगणनाका लागि आयोगले दुई हजार ४७५ जना कर्मचारी आवश्यक हुने जनाएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० वटा क्षेत्र छन् । मतगणना कार्यका लागि क्षेत्रअनुसार पाँच जना कर्मचारी परिचालन हुने छन् ।

स्थानीय चुनावमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे