अपडेट : दाङमा चट्याङ लागेर मृत्यु भएका दुवै युवतीकाे पहिचान खुल्याे



अपडेट : दाङमा चट्याङ लागेर मृत्यु भएका दुवै युवतीकाे पहिचान खुल्याे

दाङ १५ भदौ । दाङमा चट्याङ लागेर मृत्यु भएका दुवै युवतीकाे पहिचान खुलेकाे छ । तीजकै दिन राती नाचगान गरिरहेको समयमा चट्याङ लागेर मृत्यु हुनेहरुमा  घोराही उपमहानगरपालिका १२ गुरौँ गाउँकी  १६ वर्षिय दिपा घर्ती र १९ वर्षिय मोनिषा शाह रहेकाे प्रहरीले बताएकाे छ ।चट्याङ लागेर अन्य ११ जना घाइते छन् । घाइते मध्ये दुई जना गम्भिर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले घटना स्थलमा प्रहरी अझै पुग्न नसकेको र विस्तृत विवरण आउन बाँकी रहेको बताए । ‘प्रहरी घटनास्थलतर्फ जाँदै गरेको अवस्थामा बाटोमा एक महिलाले दिएको जानकारी अनुसार मृतकको नाम पहिचान भएको छ ।’ उनले भने-‘प्रहरी घटनास्थलमा पुगेपछिमात्रै थप विवरण प्राप्त गर्न सकिन्छ ।’

स्थानीयका अनुसार थप दुई जना गम्भिर घाइते भएको र उनिहरुलाई अस्पताल ल्याउँदै गरेको डिएसपी गौतमले बताए । डिएसपी गौतमले गाउँकै सालडाँडा भन्ने स्थानमा गएराती तीजको नाचगान चलिरहेको समयमा करिब ११ देखि १२ बजेको समयमा चट्याङ लागेको बताए ।

‘अहिले सम्म करिब १३ जनालाई चट्याङ लागेको र दुई जनाको घटनास्थलमै निधन भएको खबर आएको छ, थप दुई जना गम्भिर घाइते भएका छन् ।’ उनले भने-‘रोल्पाको होलेरी संग जोडिएको गुरौँ गाउँमा सडकबाट हिडेर करिब ४ घण्टामा पुग्न सकिने खबर आएको छ ।’ प्रहरीलाई घटनास्थलमा पुग्न अझै पौने घण्टा लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे