शिक्षक छनाेटकाे बिषयलाई लिएर राप्ती गाउँपालिका भित्र लफडा



शिक्षक छनाेटकाे बिषयलाई लिएर राप्ती गाउँपालिका भित्र लफडा

भालुवाङ ११ भदाै । देउखुरीकाे राप्ती गाउँपालिकामा शिक्षक छनाेट भागबण्डा गर्न खाेज्दा बिबाद बढेपछि गाउँपालिका कार्यालयमा यति बेला प्रहरी परिचालन गरिएकाे छ ।

राप्ती गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूमा बाल शिक्षा देखि १० कक्षा सम्म निशुल्क शिक्षा कार्यन्वयनका लागि विद्यालयमा अपुग हुने अनुदान शिक्षक करारमा पदपुर्तिका लागि प्राथामिक, आधारभूत र माध्यमिक शिक्षा तर्फ विभिन्न बिषयमा ५० जना शिक्षकका लागि आवेदन खुल्ला गरी शनिबार तीन चरणमा नमूना आदर्श नमुना मावि लालमटियामा परिक्षा लिई गाउँपालिका कार्यालयमा कापी जाँच गर्ने क्रममा माओवादी र राष्ट्रिय जनमाेर्चा बीच शिक्षक छनाेटमा भागबण्डा गर्ने तयारी भईरहेकाे खबर पाएर नेपाली काँग्रेसका कार्यकर्ताहरू पनि त्यहाँ पुगेपछि बिबाद भएकाे थियाे ।

शिक्षक छनाेटका बिषयमा भागबण्डा मिलाउन माओवादी र जनमाेर्चाले पालिका भित्र बैठक बसी रहेकाे खबर पाएर नेपाली काँग्रेसका नेता कार्यकर्ताहरू त्यहाँ पुगेपछि बिबाद भएकाे थियाे । भागबण्डा नै गर्ने भए काँग्रेसलाई पनि भाग चाहिने भनेपछि बिबादले उग्ररूप लिएकाे माओवादीका एक नेताले नाम नखुलाउने सर्तमा देउखुरी टुडेलाई भने । उनले काँग्रेसलाई कुनैपनि हालतमा भाग दिन नसकिने ४ नम्बर वडा अध्यक्ष बिरबहादुर चाैधरीले भनेपछि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हरि भुसाल बीच केही बेर चर्काचर्की नै चल्याे ।

चर्काचर्कीले झनै हात हालाहाल सम्मकाे अवस्था सिर्जना भएकाे ती नेताले जानकारी दिए । यता नेपाली काँग्रेसले भने शिक्षक छनाेटमा माओवादीले आफ्ना कार्यकर्ता मात्र भर्ती गर्न खाेजेकाे भन्दै भदाै १२ गते आईतबार पालिकाकाे कार्यालयमा तालाबन्दी गर्ने सम्मकाे चेतावनी दिएकाे छ । काँग्रेसका महाधिवेशन प्रतिनिधि भुसालले पालिकाकाे शिक्षक छनाेट प्रकृया निष्पक्ष नभए वा आफूखुसी भागबण्डा गरे तालाबन्दी गर्ने चेतावनी दिएका छन् । त्यस्तै नेकपा एमालेले भने शिक्षा समिती गठन देखि शिक्षक छनाेट प्रकृया सम्म पालिका अध्यक्षले आफूखुसी बल मिचाई गरेकाे भन्दै आपत्ति प्रकट गरेकाे छ ।

यसैबीच गाउँपालिकाकाे निशुल्क शिक्षा कार्यान्वयन निर्देशन समितीकाे सदस्यबाट नेकपा एमालेबाट निवार्चित ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चाैधरी र वडा सदस्य गिता चाैधरीले शनिबार एक विज्ञप्ती जारी गर्दै राजिनामा दिएका छन् । उनीहरूले शिक्षक छनाेट समिती गठन देखि शिक्षक छनाेट प्रकृयामा समेत ब्यापक कानुनी त्रुटि गरेर शिक्षक छनाेटमा बल मिचाई भएकाे आराेप लगाएका छन् । साथै उनीहरूले यस्ताे गलत कार्यकाे हामी कडा रूपमा बिराेध गर्दछाैँ जारी विज्ञप्तीमा भनिएकाे छ ।

यता यस बिषयमा गाउँपालिका अध्यक्ष प्रकाश बिष्टलाई बुझ्दा शिक्षक छनाेट निष्पक्ष रूपमा भईरहेका बेला काँग्रेसले भागबण्डा खाेजेर धाधली गर्न खाेजेकाे आराेप लगाएका छन् । उनले हामीले निष्पक्ष रूपमा शिक्षक छनाेट गर्ने गरी प्रकृया अगाडी बढेकाे अवस्था काँग्रेसले भागबण्डा खाेजेर गलत राजनीतिकाे संस्कार देखाएकाे आराेप लगाएका छन् । साथै उनले शिक्षक छनाेटमा कुनैपनि हालतमा राजनीति भागबण्डा गर्न नसकिने दाबी गरेका छन् ।

उनले एमाले भने शुरू देखि नै शिक्षा र स्वास्थ्यमा एकै पटक ठुलाे रकम बिनियाेजन गरेकाे भन्दै असहमति जनाउँदै आएकाे र शिक्षा तथा स्वास्थ्यका बिषयमा असहयाेग गरेकाे बताए । गाउँपालिका कार्यालयमा अहिले माओवादी, काँग्रेस, एमाले र जनमाेर्चाका कार्यकर्ताहरू गेट बाहिर रहेकाे र भित्र परिक्षा दिएका प्रशिक्षार्थी शिक्षकहरूकाे कपी जाँच भई रहेकाे छ । लिखित परिक्षाकाे नतिजा शनिबार राती नै १२/१ बजे सम्म प्रकाशन गर्ने गरी तयारी भईरहेकाे बताईएकाे छ । गाउँपालिका कार्यालयमा नेपाल प्रहरीले कडा सुरक्षा दिईरहेकाे स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे