लमहीमा सभागृहको शिलान्यास



लमहीमा सभागृहको शिलान्यास

लमही २९ साउन । लमही नगर विकास समितिले रातोडाँडामा नयाँ शहरको योजना बनाउँदै गर्दा एक विगाहा जग्गा सभागृहको लागि छुट्याएको थियो । बजेट अभावका कारण जग्गा छुट्टिए पनि सभागृह निर्माणको काम अघि बढेको थिएन तर अब त्यो जग्गामा सभागृह बन्ने भएको छ । शहरी विकास मन्त्रालयको बजेटबाट सभागृह बन्ने भएको हो । प्रदेश तथा केन्द्रस्तरका ठूला सभा सम्मेलन सञ्चालन गर्न लमहीमा सभाहलको अभाव छ । त्यो अभाव हटाउन प्रदेश र केन्द्रस्तरका ठूला सभाहरु सञ्चालन गर्न सहयोग पुग्ने उद्देश्यले सुविधासम्पन्न सभागृह निर्माण गर्न थालिएको हो ।

शहरी विकास मन्त्री मेटमणि चौधरीले सभागृहको शिलान्यास गर्नु भएको छ । लमही नगर विकास समितिको एक विगाहा जग्गामा सभागृह निर्माण हुने र यो सभागृहले समग्र दाङको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । शहरी विकास मन्त्री मेटमणि चौधरीले सभागृहले देउखुरीको आर्थिक विकासमा योगदान गर्ने बताउनुभयो । ‘ठूला कार्यक्रम गर्न ठाउँ थिएन । बगैंचा या खुला चौरमा गर्नुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हट्ने छ’– मन्त्री चौधरीले भन्नुभयो– ‘यो सभागृहले देउखुरीको आर्थिक विकासमा टेवा पु¥याउने छ ।’

शहरी विकास मन्त्रालयको १८ करोड बजेटबाट लमहीमा सभागृह निर्माण शुरु हुने र तीन वर्षभित्र सम्पन्न हुने मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले बताउनुभयो । ‘हामीसँग अहिले १८ करोड बजेट छ । यो बजेटबाट काम शुरु हुन्छ । बहुवर्षीय आयोजनाको रुपमा यसलाई स्वीकृत गरेर काम अघि बढाउँछौं । बजेटको अभाव हुनेछैन’– उहाँले भन्नुभयो– ‘अबको तीन वर्षभित्र यसलाई सम्पन्न गर्ने गरी काम हुनेछ ।’ शहरी पूर्वाधारअन्तर्गत सभागृहको परिकल्पना गरिएको हो । धेरै जिल्लामा जग्गा प्राप्त नहुँदा काम अघि बढ्न नसकेका घटनाहरु पनि छन् तर लमहीमा मिलेको जग्गा प्राप्त भएको र यसले सभागृह निर्माणमा गति प्राप्त हुने आशा उहाँले राख्नुभयो । ‘अन्य जिल्लामा पनि यस प्रकारका आयोजना छन् तर त्यहाँ जग्गा नमिलेको, खोला किनार, चिरा परेको जग्गा देखाइन्छ तर यहाँ संरक्षण गरेर राखिएको, मिलेको जग्गा छ’– सचिव सिंहले भन्नुभयो– ‘सभागृह बनेमा यस ठाउँको विकासमा योगदान पुग्नेछ ।’

नगर विकास समितिका अध्यक्ष तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लमहीको आर्थिक विकासमा सभाहलले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘हामीले सभाहल बनाउने योजना बनाएका थियौं तर बजेट थिएन । अहिले मन्त्रालयले बजेटको व्यवस्था गरेकोमा हामी खुशी छौं’– चौधरीले भन्नुभयो– ‘निर्माण सम्पन्न भएर सञ्चालन हुने आशामा छौं ।’ नगर विकास समितिले करिब ५३ करोडको लागतमा सभागृह निर्माण हुने डिपियार तयार पारेको छ । करिब एक हजार मानिस अट्ने क्षमताको सभाहल बन्ने र त्यसभित्र डिजिटल सुविधाको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । ‘हामीले डिपिआर तयार पारेका छौं । त्यो स्वीकृत हुन बाँकी छ’– लमही नगर विकास समितिका सवइञ्जिनियर तुलसीराम अर्यालले भन्नुभयो– ‘सभागृहको लागि जग्गा छुट्याएर राखेका थियौं । अब त्यही जग्गामा सभागृह बन्नेछ ।’ सभागृह शिलन्यास कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, महानिर्देशक सुरेन्द्रमान श्रेष्ठ, लमही नगर पालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगीलगायतको सहभागिता थियो ।

स्वर्गद्वारी जोड्न केवलकार, राप्तीमा बृहत तटबन्ध

मन्त्री भएपछि दोस्रोपटक गृहजिल्ला आउनुभएको छ शहरी विकास मन्त्री मेटमणि चौधरी । शनिबार र आइतबार थुप्रै शिलान्यास र उद्घाटन कार्यक्रमको कार्यतालिका छ । शनिबार लमहीमा दलित सचेतना अभियानको भवन उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले देउखुरीबाट सिधैं स्वर्गद्वारी जोड्ने केवलकारको लागि काम भइरहेको बताउनुभयो । जसका लागि लगानीकर्ताको खोजी गरिएको दाबी गर्नुभयो । यसैगरी राप्ती नदीको दुबै किनारमा वृहत तटबन्धको नयाँ परियोजना सञ्चालन हुन थालेको जानकारी दिनुभयो । एशियाली विकास बैंकको सहयोगमा जनताको तबटन्ध कार्यक्रमबाट अधुरा रहेका र नयाँ खाली ठाउँमा तटबन्धको योजना छ । यो आयोजनाले राप्ती नदीलाई व्यवस्थित गर्ने, डुबान र कटानको समस्या समाधान हुने देखिएको छ । उहाँले अर्जुनखोलादेखि बबई नदीसम्म फोरलेन सडक सञ्चालनको योजना अघि बढाइने जानकारी दिनुभयो । यति मात्रै नभएर बबईदेखि मुसोट सम्म १२ किलोमिटर क्षेत्रमा सुरुङ मार्ग बनाउने योजना सुनाउनुभयो । ‘म मन्त्री हुम्ला नहुम्ला, सांसद हुम्ला नहुम्ला तर यी आयोजनाले पूर्णता पाउनेगरी काम गर्दैछु’– उहाँले भन्नुभयो– ‘विकास निर्माणका लागि एक्लै भन्दा हामी सबै मिलेर अघि बढेमा सफल हुन सकिन्छ ।’

शहरी विकास मन्त्री मेटमणि चौधरीले दलित सचेतना अभियानको नव निर्मित भवनको उद्घाटन गर्नुभएको छ । करिब ४५ लाख बढीको लागतमा भवन निर्माण भएको हो । दलित सचेतना अभियानका अध्यक्ष शशिराम नेपालीको अध्यक्षता तथा शहरी विकास मन्त्री चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, लमही नगरपालिका वडा नं. ५ का अध्यक्ष ओमप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष चुमा आचार्यलगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नुभएको थियो । जातीय छुवाछुत तथा भेदभाव अन्त्यका लागि कलमको माध्यमबाट सहयोग गरेको भन्दै नयाँ युगबोधकर्मी दशरथ घिमिरेसहित पत्रकारहरुलाई सम्मान गरिएको छ । पत्रकारहरु अरुणकुमार नेपाली, प्रियास्मृति गजमेर, शिबु खनाललाई सम्मान गरिएको हो । दलित सचेतना अभियानका संस्थापक कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । उपाध्यक्ष तेजबहादुर विकको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गोपाल विकले गर्नुभएको थियो । शनिबार नै शहरी विकास मन्त्रीसँग थारु कल्याणकारिणी सभा क्षेत्र नं. १ देउखुरी र गढवाले छलफल गरेका छन् । थारु समुदायको आर्थिक आयआर्जन र उद्यमशीलतामा लगानी लगाउन जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे