दाङमा बोर्डिङ स्कुल छोडेर सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या बढ्दै



दाङमा बोर्डिङ स्कुल छोडेर सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या बढ्दै

भालुवाङ १८ साउन । दाङमा पछिल्लो समय बोर्डिङ स्कुल छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या बढ्न थालेको छ ।

राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ निवासी मोहमद सैयद कक्षा ८ सम्म बोर्डिङ स्कूलमा पढे । त्यसपछि उनी आदर्श नमूना माध्यमिक विद्यालय लालमटिया कक्षा ९ मा भर्ना भए । सामुदायिक विद्यालयमा भर्ना भएका उनलाई कुनै पछुतो छैन । सामुदायिक विद्यालयले पनि उत्कृष्ट र राम्रो रिजल्ट दिएका छन् । त्यही भएर म बोर्डिङ छाडेर सरकारीमा आएको उनले बताए ।

सामुदायिक विद्यालयमा भर्ना भएका विद्यार्थी खुशी समेत देखिएका छन् । सरकारले नमूना विद्यालय छनोट गरेका विद्यालयमा यसको प्रभाव बढी देखिएको छ । भौतिक पूर्वाधार मात्रै नभई शैक्षिक गुणस्तरमा समेत अब्बल देखिन थालेका छन् सामुदायिक विद्यालय । जहाँ पठनपाठनको साथसाथै विद्यार्थीहरुको क्षमता अभिबृद्धिमा जोड दिइएको छ ।

वार्षिक परीक्षाको नतिजा समेत सुधारोन्मुख छ । दाङ जिल्लाका नमूना विद्यालयमा संस्थागत विद्यालय छाडेर भर्ना हुने विद्यार्थीको संख्यामा बृद्धि भएको छ । सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन हुने भएपछि विद्यार्थीको आकर्षण बढेको हो ।

आदर्श नमूना मावि लालमटियामा यस वर्ष मात्रै कक्षा ६ देखि ९ सम्म तीन सय ६३ विद्यार्थी बोर्डिङ स्कूल छाडेर भर्ना भएका छन् । हरेक वर्ष भर्ना हुन आउने विद्यार्थीको संख्या बढ्दै गएको देखिन्छ ।

विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलका अनुसार कक्षा ५ मा ४०, ६ मा ६०, ७ मा ५०, ८ मा १०५ र ९ मा १०८ बोर्डिङ स्कुलबाट आएका विद्यार्थी भर्ना भएका छन् । विद्यालयमा कुनै समय विद्यार्थीको चाप घट्दो थियो । व्यवस्थापन फितलो थियो तर २०७५ माघ २० देखि विद्यालयले सुधारको बाटो पकडेको देखिन्छ ।

प्रधानाध्यापकको रुपमा किरण पोख्रेलले जिम्मेवारी पाएपछि विद्यालयलाई शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारमा अब्बल बन्दै गएको देखिएको हो । शैक्षिक वातावरण र गुणस्तरीय पढाइका साथै अंग्रेजी माध्यमबाट पढाइ थालेपछि विद्यार्थीको भर्ना हुने संख्या ह्वात्तै बढेको प्रधानाध्यापक पोख्रेलले बताए ।

त्यस्तै लमहीको आदर्श नमूना माध्यमिक विद्यालयमा पनि यस वर्ष निजी विद्यालय छाडेर भर्ना भएका विद्यार्थीको संख्या उकालो लाग्दो छ । अघिल्ला वर्षहरुमा पनि निजी विद्यालय बीचमै छाडेर आउनेको संख्या थियो । यस वर्ष विद्यालयमा ७१ जना विद्यार्थी बोर्डिङ स्कुल छाडेर भर्ना भएको प्रधानाध्यापक कुलचन्द्र पौडेलले बताए ।

राजपुर गाउँपालिका–२ मा रहेको जनज्योती माध्यमिक विद्यालय बेलामा पनि नयाँ भर्ना बढेको छ । जहाँ संस्थागत विद्यालय छाडेर विद्यार्थीहरु सामुदायिक विद्यालयमा आउने क्रम बढेको प्रधानाध्यापक केशवराम यादवले बताए ।

दुई सय १४ नयाँ भर्नामा आधा जति विद्यार्थी संस्थागत विद्यालयबाट भर्ना भएको देखिएको छ । विद्यालयमा शैक्षिक वातावरण तयार पार्न समुदायको समेत चासो र सहयोग चाहिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज गिरीले बताए ।

विद्यालयमा पठनपाठनको गुणस्तर बढेपछि शिक्षकहरुले पनि अनिवार्यरुपमा आफ्ना छोरा छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् ।

आदर्श नमूना मावि लालमटियामा अध्यापन गराउँदै आउनु भएका शिक्षक जीवराज शर्माले आफ्नी छोरीलाई आफूले पढाउने विद्यालयमा भर्ना गराएका छन् ।

कोरोना भाइरसको संक्रमण र त्यसपछि छाएको मन्दीले संस्थागत विद्यालयको मासिक शुल्क बुझाउन नसक्ने अवस्था भएपछि कतिपय अभिभावकले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गरेको पनि भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे