जथाभावी एण्टिबायोटिक प्रयोग रोक्न समुदाय स्तरमा जनचेतना आवश्यक छ 



जथाभावी एण्टिबायोटिक प्रयोग रोक्न समुदाय स्तरमा जनचेतना आवश्यक छ 

भालुवाङ ९ मंसिर । जथाभावी एण्टिबायोटिक प्रयोग रोक्न समुदाय स्तरमा जनचेतना सँग व्यवहार परिवर्तन गर्न आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

बुझौं, बुझाऔं आजैबाट राेकथाममा जुटाै‌ भन्ने मुल नाराका साथ आइतबार बिश्व स्वास्थ्य संगठनको समन्वयमा सरोकारवालाहरु बीच स्वास्थ्य मन्त्रालयले दाङको राप्ती गाउँपालिका-५ सिसहनियाँमा आयोजना गरेको प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह समापन कार्यक्रममा बोल्ने वक्ताहरूले सो कुरा बताएका हुन् । साथै उनीहरूले  जथाभावी एण्टिबायोटिकको प्रयोग नगर्न नगराउन पनि सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.बासुदेव उपाध्यायको अध्यक्षता एवम् स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै  स्वास्थ्य मन्त्री सारु मगरले एण्टिबायोटिक औषधीहरुको जथाभावी प्रयोगले निकट भविश्यमा मानव स्वास्थ्यमा गंभिर असर देखापर्ने बिश्व स्वास्थ्य संगठनको निष्कर्ष रहेको बताए । कार्यक्रममा बोल्दै मन्त्री मगरले मेरो स्वास्थ्य–मेरो जिम्मेवारी संझेर नागरिकहरुको स्वास्थ्यमाथी ख्याल गरेर मात्र एण्टिबायोटिक औषधीहरुको प्रयोग गर्न आग्रह गरे ।

एण्टिबायोटिक्स प्रयोग गर्ने हुन्न भन्ने मान्यता होईन तर मेडिकल र फार्मेसिहरुबाट आम नागरिकहरुले डाक्टरको सिफारिस विना जथाभावि प्रयोग गर्नाले मानव शरिरमा गंभिर प्रकारका समस्याहरु देखापर्ने बताए । बिश्व स्वास्थ्य संगठनको तथ्यांक बमोजिम नेपालमा २८ प्रतिशत मानिसहरुले आफै मेडिकल र फार्मेसिमा गएर औषधि ल्याउँछन् र उनिहरुले डक्टरको स्तिलप र सिफारिस बिनै दिन्छन्, २२ प्रतिशत मानिसहरुले एण्टिबायोटिकको डोज नै पुराएर खादैनन् भने ७० प्रतिशत मानिसहरुले कडा खालको एण्टिबायोटिक्स औषधीको प्रयोग गर्ने गरेको स्वास्थ्य मन्त्रालयका सचिव डा. बासुदेव उपाध्यायले बताए । सरकारको यो अभियान अन्त्य होइन सुरुवात हुदै छ । बिश्व स्वास्थ्य संगठनको योजना  बमोजिम नेपाल सरकारले सरोकारवाला सबै संगको समन्वय सहकार्यमा प्रतिजैविक प्रतिरोध अभियानको कानूनी कार्यान्वयन तर्फ जाने छ–मन्त्री सारुमगरले भने, मानव स्वास्थ्य भन्दा ठूलो ब्यापार हुन सक्दैन ।

कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले एण्टिबायोटिकको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा पार्ने असरहरुका बारेमा आम नागरिकहरु सम्म सचेतना प्रबाह गर्न जरुरी रहेको औंल्याए । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले एण्टिबायोटिक औषधीहरुको जथाभावी प्रयोगले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमताको ह्रास गराईरहेको भन्दै एण्टि माईक्रोवियल रेसिष्टेन्स अभियान कार्यान्वयन गर्न बिद्यालय तहबाट पाठ्याक्रममै समावेश गरेर सचेतना फैलाउनुपर्ने आवश्यकता आइसकेको बताए । एण्टि माईक्रोवियल रेसिष्टेन्सका कारण आईसियुमा उपचार गराईरहेको मानिस समेत निमोनिया भएर मर्ने जस्ता गंभिर कारणहरु देखा पर्न थालेको उनले बताए । यो समस्या भविश्यको स्लो सुनामी हो, एण्टिबायोटिक्स प्रयोग गर्नै हुदैन भन्ने होइन तर जथाभावि प्रयोगले गंभिर प्रकारका असरहरु निम्त्याउछ–उनले भने ।

मानिस, कृषि, पशु र वातावरणमा प्रयोग हुने बिषदी तथा एण्टिबायोटिक्सहरुले सिधै मानव शरिरमा गंभिर असर पुर्ई रहेकोले डक्टरको स्लिप र सिफारिस विना सरोकारवालाहरुले जथाभावि एण्टिबायोटिक्स औषधीहरु नदिन र नागरिकहरुले पनि चिकित्सकको सिफारिस विना एण्टिबायोटिक औषधीहरुको प्रयोग नगर्न नगराउन कार्यक्रममा आग्रह गरिएको हो । प्रतिजैविक प्रतिरोध अभियानलाई आम नागरिकहरु र सरोकारवालाहरुले गंभिर रुपमा लिन कार्यक्रममा आग्रह गरिएको हो ।

कार्यक्रममा स्वास्थ्य निर्दैशनालयका डा. अच्युत न्यौपाने, प्रशासक नोदनारायण चौधरी, बरिष्ठ नर्सिङ अधिकृत चित्रा खनाल, लमही र राप्ती गाउँपालिकाका प्रमुखहरु, स्वास्थ्य संयोजकहरु, कृषि तथा कृषि शाखाका प्रमुखहरु, स्वास्थ्य चौकीका प्रमुख, बिश्व स्वास्थ्य संगठनका प्रतिनिधीहरु, चिकित्सकहरु पत्रकारहरु तथा फार्मेसी र औषधी ब्यवसायीहरुको सहभागिता रहेको थियो । मानव, कृषि र पशुमा प्रयोग गरिने बिभिन्न प्रकारका कडा खाले बिषदिहरु र एण्टिबायोटिकको जथाभावि प्रयोगलाई निस्तेज बनाउन सरकारका निकायहरुले कानून कार्यान्वयन र नियमनमा कडाई गर्न कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बरिष्ठ नर्सिङ अधिकृत चित्रा खनालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे