कांग्रेस बैठक आज, देउवामाथि दबाब बढाउने शेखर कोइराला समूहको तयारी



कांग्रेस बैठक आज, देउवामाथि दबाब बढाउने शेखर कोइराला समूहको तयारी

काठमाण्डाै २७ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पालिका चुनावको समीक्षा र आसन्न चुनावको तयारीका सम्बन्धमा छलफल गर्न आज दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाउनुभएको हो ।

बैठकमा नेता शेखर कोइराला पक्षले सरकारको काम, कारबाहीबारे गम्भीर समिक्षा गर्ने एजेन्डा तय गरेको छ । हिजो बसेको नेता कोइराला पक्षको बैठकले सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो । कोइराला पक्षले सरकारले ल्याएको बजेटमा पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

यस्तै पार्टी सभापति देउवाले पार्टीलाई विधिवत् रुपमा अघि बढाउन नसकेको कोइराला पक्षको आरोप छ । पार्टी सञ्चालनमा सभापति देउवाले एकलौटी गरेको भन्दै विरोध गर्दै आएको कोइराला समूहले यसपटकको केन्द्रीय समिति बैठकमा दबाब बढाउने भएकोे छ ।

१४औँ महाधिवेशनपछि ६ महिनामा गरिसक्नुपर्ने विधानबाट निर्देशित कामसमेत सभापति देउवाले पूरा गर्न नसकेको कोइराला समूहको भनाइ छ । सभापति देउवाले सरकार सञ्चालनमा व्यस्त हुँदा विधानले गरेको कोषाध्यक्ष चयनदेखि सदस्यहरूको मनोनयन, विभाग गठन लगायत महत्त्वपूर्ण सङ्गठन व्यवस्थापनका काममा समय दिन सक्नुभएको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे