लगातारको वर्षाले देशका विभिन्न ठाउँमा बाढी र पहिरो, १ जनाको मृत्यु, २ जना बेपत्ता, अधिकांश ठाउँमा डुबान



लगातारको वर्षाले देशका विभिन्न ठाउँमा बाढी र पहिरो, १ जनाको मृत्यु, २ जना बेपत्ता, अधिकांश ठाउँमा डुबान

काठमाडोँ १८ असार । लगातारको वर्षापछि पाँचथरको फालेलुङ गाउँपालिका-७ विही दिनमा गएकाे पहिरोमा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ । पहिरोमा बेपत्ता भएका रुपलाल मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बेपत्ता उहाँकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको खोजी भइरहेको छ । गएराति खसेको पहिरोले फालेलुङ गाउँपालिका-७ विहीदिनका रुपलालको घर बगाएको थियो । घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल हुनुभएको थियो । पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै लगातारको वर्षापछि गएको पहिरोले खोटाङमा एक घर बगाउनुका साथै पशुचौपाया पुरेको छ । गएराति झण्डै पाँच सय मिटर माथिबाट खसेको पहिरोले रावाबेसी गाउँपालिका-६ हौँचुरका बलराम खत्रीको घर बगाएको हो ।

खत्री परिवार इटहरीमा सरिसकेकाले मानवीय क्षति भने नभएको वडाध्यक्ष चिरञ्जीवी कार्कीले बताउनुभयो । पहिरोले भैरबहादुर राईको गोठ बगाउँदा एउटा भैँसी, एउटा पाडो र एउटा बहर गोरु पुरिएको छ । भैंँसीलाई पहिरोबाट उद्धार गरेर निकालिएको तर बहर गोरु भने अहिलेसम्म फेला नपरेको वडाध्यक्ष कार्कीले बताउनु भयो ।

पहिरोका कारण भैरबहादुर राई, उद्योगबहादुर भुजेल, कृष्णबहादुर राई, पत्थरबहादुर राई, धनकुमार राई, वणर्बहादुर राई, हरि राई, पर्शुराम राई र प्रदीप राईको घर जोखिममा परेको छ । पहिरोभन्दा माथि घर भएका चित्रबहादुर कार्की र शुक्रराज राईको घर पनि जोखिममा परेको कार्कीले बताउनुभयो ।

यस्तै निरन्तरको वर्षाका कारण उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रका सयौँ घर पसल डुबानमा परेका छन् । बजार क्षेत्र डुबानमा परेपछि त्यहाँका पसलमा बिक्रीका लागि राखिएका विभिन्न उपभोग्य वस्तु सबै नष्ट भएका छन् ।

पचासौँ लाखभन्दा धेरैको सामान नोक्सान भएको स्थानीय व्यापारीले बताएका छन् । तर क्षतिको यकिन विवरण भने आइसकेको छैन । अहिले पानी केही कम भए पनि अवस्था सहज नभएको र फाट्टफुट्ट पसल मात्रै खुलेका उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोख्रेलले जानकारी दिनुभयो । अहिले डुबान प्रभावित बजार क्षेत्रको अनुगमन भइरहेको उहाँको भनाइ छ ।

मुख्य गरेर गाईघाट बजार क्षेत्रको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभाटोल र मुख्य बजार क्षेत्रको पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र सङ्गमटोलका अधिकांश घर र पसल डुबानमा पर्दा पसलमा राखिएका धेरैजसो उपभोग्य वस्तु नष्ट भएको पसल सञ्चालक दीपक कार्कीले बताउनुभयो । यसैबीच उदयपुरको चौदण्डीगढी नगरपालिका-५ मा त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध बाढीले भत्काएको छ । बाँध भत्काएर झण्डै १० बिगाहा खेतमा बाढी पसेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे