आवेगमा आएर सांसद वलीले पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिको निस्कर्ष



आवेगमा आएर सांसद वलीले पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिको निस्कर्ष

बुटवल,१८ असार । विवादित घटनामा संलग्‍न लुम्बिनीका निवर्तमान राज्यमन्त्री बिमला कुमारी खत्री वलीले पदीय मर्यादा भुलेर कमजोरी गरेको ठहर गरिएको छ।

विवादित घटनामा राज्यमन्त्री संलग्‍न भएपछि लुम्बिनी सरकारले असार १ गते आन्तरिक मामिला तथा सञ्‍चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

उक्त छानबिन समितिले शनिबार मुख्यमन्त्री कुल प्रसाद केसीलाई प्रतिवेदन बुझाउँदै राज्यमन्त्री जस्तो पदमा रहँदा बिमला कुमारी वलीले पदीय मर्यादा विपरीत काम गरेर कमजोरी गरेको ठहर गरेको हो।

जेठ ३१ गते दाङ तुल्सिपुरस्थित माओवादी कार्यकर्ता एकराज बस्‍नेतकी श्रीमती मीना र छोरीमाथि अभद्र व्यवहार गरेपछि वली विवादित बनेकी थिइन्। ‘राज्यमन्त्री जस्तो व्यक्ति विवादवाला व्यक्तिका श्रीमती र बालबालिकासँग झगडा गर्नु कमजोरी भएको देखिन्छ,’ सरकारी प्रतिवेदनमा भनिएको छ।

राज्यमन्त्रीले आवेगात्मक कमजोरी गरेको देखिन्छ, त्योसँगै वली एकराजको घर नपुग्दै मानिसहरुको भिड जम्मा हुनु र केही पत्रकार समेत पुग्‍नुले घटना योजनाबद्ध भएको हुनसक्नेतर्फ प्रतिवेदनले आशंका गरेको छ।

सांसद वलीलाई बचाउने गरी आएको प्रतिवेदनले वली र बस्‍नेत माओवादीकै कार्यकर्ता भएकाले मिलेर जानुपर्ने सुझाव दिएको छ। छानबिन टोलीले स्थलगत अध्ययन, सम्बन्धित व्यक्तिहरुसँग छलफल गरेर ल्याइएको संयोजक शर्माले बताए।

‘स्थानीयहरुबाट पनि वलीले एकराजसँग बिहानै सापटी रकमबारे कुराकानी गर्दा घरमै आउनु भनेको र एकैछिनमा पुग्दा बस्नेत नभटिनु र मानिसहरु जम्मा हुनुले योजनाबद्ध भएको जस्तो देखिन्छ,’ मन्त्री शर्माले भने।

प्रतिवेदनले सांसद वलीलाई पदीय मर्यादा विपरीत काम भएकाले कडा चेतावनीसहित आवश्यक कदमका लागि मुख्यमन्त्रीलाई सिफारिस गर्न सुझाव दिएको छ।

प्रतिवेदनमा एउटै राजनीतिक व्यक्तिमा आबद्ध हुँदा एकराज बस्नेत र राज्यमन्त्री वलीबीच विभिन्‍न कार्यक्रममा सहकार्यको सिलसिलामा आपसी रकम लेनदेन भएको र घटना आर्थिक लेनदेनबाट भएको स्पष्ट पारेको छ। तत्काकालीन नेकपाबाट विजयी भएकी वलीले एमाले–माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन्।

सत्ता राजनीतिको खिचातानीकै सिलसिलामा वली गठबन्धन सरकारमा राज्यमन्त्री बनेकी हुन्। दाङ तुल्सिपुरमा सर्वसाधरणको घरमा पुगेर अभद्र व्यवहार गरेपछि विवादित हुँदा सरकारमाथि नैतिक संकट उत्पन्‍न भएको थियो।

छानबिन समितिले कमजोरी भेट्टाएपछि मुख्यमन्त्री केसीकै योजनामा राजीनामा गराउन लगाइएको थियो। वलीले १५ गते (बुधबार) राजीनामा दिएकी थिइन्। तर, उनले सञ्चारकर्मीलाई भने आफूले राजीनामा नदिएको दाबी गरेकी छन्।

छानबिन समितिमा सञ्‍चारमन्त्री शर्मा सहित कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती, महान्याधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य थिए।

प्रतिवेदनमाथि विश्लेषण गरेर अघि बढ्छौं : मुख्यमन्त्री केसी

छानबिन समितिले तयार पारेको प्रतिवेदन बुझेपछि मुख्यमन्त्री कुल प्रसाद केसीले प्रतिवेदनले दिइएका सुझावको विश्लेषण गरेर सरकारले कदम चाल्ने बताएका छन्।

उनले राज्यमन्त्री जस्तो पदमा रहँदा सर्वसाधरणको घरमा पुगेर गरिएको व्यवहार गलत भएको प्रतिवेदनले ठहर गरेको उल्लेख गर्दै सार्वजनिक बेइज्जती गरिएको विषयमा आवश्यक अनुसन्धान गर्ने बताए।

‘समितिले राज्यमन्त्री नपुग्दै जसरी मानिसहरुको भिड जम्मा भएको भनेर भनेको छ, त्यो अनुसार भएको भए, यसमा थप अनुसन्धान आवश्यक पर्छ,’ मुख्यमन्त्री केसीले भने।

सञ्चार माध्यममा आएजस्तो पीडित महिलाबाट समेत त्यस्तो कुरा नआएको बताउँदै घटनाको विश्लेषण गरेर मात्रै सरकार अघि बढ्ने बताए। मुख्यमन्त्री केसीले बिमला कुमारी वलीबाट पदीय मर्यादा विपरीत कमजोरी भएको स्वीकार गर्दै घटना योजनाबद्ध थियो की भन्‍ने विषयमा पनि थप अनुसन्धान गर्ने संकेत गरे।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे