एसपीपी सम्झौता नेपालकै आग्रहमा स्वीकृत भइसक्यो : अमेरिका, अघि बढेको छैन : नेपाली सेना



एसपीपी सम्झौता नेपालकै आग्रहमा स्वीकृत भइसक्यो : अमेरिका, अघि बढेको छैन : नेपाली सेना

काठमाडौं २ असार ।  नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) सम्बन्धी सम्झौता गर्ने कुनै प्रक्रिया सुरु नभएको जनाएको छ । अमेरिकाले नेपालकै आग्रहमा सम्झौता प्रस्ताव गरेको बताइरहँदा सेनाले एसपीपीबारे त्यस्तो कुनै प्रक्रिया अघि नबढेको र नबढ्ने प्रस्ट पारेको छ ।

नेपाली सेनाले विज्ञप्ति निकालेर नेपालको असंलग्न परराष्ट्र नीतिमा प्रतिकूल असर पर्नेगरी भविष्यमा पनि कसैसँग सैनिक साझेदारी नगर्ने प्रतिबद्धता जनाएको छ ।  सेनाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया पनि नभएको जानकारी गराइन्छ ।’अमेरिकाले भने एसपीपीमा सहभागी हुन नेपालले गरेको अनुरोधलाई स्वीकृत गरिसकेको दाबी गरेको छ ।

नेपालमा रहेको अमेरिकी दूतावासका कार्यवाहक राजदूत मानुअल मिकलरले हिजो पत्रकारहरुसँगको कुराकानीमा सन् २०१५ र २०१७ मा गरी दुई पटक नेपालले एसपीपीमा सहभागिताका लागि पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरेको दाबी गरेका हुन् । एसपीपीमा सहभागी हुनका लागि कुनै सम्झौता पत्र आवश्यक नपर्ने र अहिले सञ्चार माध्यममा सार्वजनिक भएको मस्यौदा पनि सत्य नभएको उनको भनाइ छ ।

अमेरिकी सैन्य रणनीति अन्तर्गत रहेको एसपीपीमा हस्ताक्षर हुन लागेको चर्चा बढेपछि प्रतिनिधि सभामा विरोध भएको छ । सांसदहरूले एसपीपीको विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै त्यसमा समर्थन नगर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणमा एसपीपीमा हस्ताक्षर गर्न लागेको र त्यसको लागि अमेरिकाले दबाब दिएको भन्दै सार्वजनिक रूपमा समेत सरकारमाथि खबरदारी भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमति विना कुनै पनि सम्झौता नहुने बताए । सत्ता गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा उहाँले देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राखे वा दबाब दिए पनि आफूले नमान्ने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे