२०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै



२०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

काठमाण्डाै ५ जेठ । २०७४ सालमा ७५३ पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदैछ । पालिकामा नयाँ जनप्रतिनिधि चुन्न गएको वैशाख ३० गते चुनाव भएको थियो । तर मतगणनामा ढिलाइ हुँदा सबै पालिकाको मतपरिणाम सार्वजनिक हुन सकेको छैन ।

पालिकामा भोलिसम्ममा सबै जनप्रतिनिधिले शपथ लिइसक्ने अवस्था छैन । शपथ नलिएसम्म नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्न पाउने छैनन् । नयाँ जनप्रतिनिधिले शपथ नलिएसम्म पालिका जनप्रतिनिधिविहीन हुनेछन् । जनप्रतिनिधिले शपथ नलिएसम्म कर्मचारीबाट प्रशासनिक काम हुने भएकाले खासै समस्या नपर्ने निर्वाचन आयोगले जनाएको छ । बजेटका काम तथा एजेन्डा प्रस्तुत गर्ने कतिपयमा केही समस्या पर्न सक्ने निर्वाचन आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।

७५३ पालिकामा मेयर/अध्यक्ष ७५३ तथा उपमेयर/उपाध्यक्ष गरी ७५३ जना, ६ हजार ७४३ वडाध्यक्ष,  ६ हजार ७४३ महिला सदस्य, ६ हजार ७४३ दलित महिला सदस्य र १३ हजार ४८६ जना खुला वडा सदस्य गरी ३५ हजार २२१ जना जनप्रतिनिधि रहने व्यवस्था छ । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे