गए राती १२ बजेदेखि मौन अवधि सुरु, प्रचारप्रसारका सम्पूर्ण काम बन्द



काठमाडाैँ २८ बैशाख । स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा आजदेखि मौन अवधि सुरु भएको छ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार-प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ ।

निर्वाचनको मौन अवधि अगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ। सामाजिक सञ्जालमा रहेका आचारसंहिता विपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ।

नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। मतदानका दिन वैशाख ३० गते यातायातका साधन बन्द गर्ने निणर्य सरकारले गरेको छ। एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहनेछन् ।

प्रेस काउन्सिल नेपालले मौन अवधिमा झन् गम्भीर बन्न आम सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तामा अपिल गरेको छ । पटक-पटक आग्रह गर्दा पनि पत्रकारिताजगत् आचारसंहितातर्फ गम्भीर भएको नपाइएको भन्दै आज राति १२ बजेदेखि मौन अवधि हुने भएकाले यो अवधिमा अझ गम्भीर बन्न काउन्सिलले सुझाएको हो ।

मौन अवधि झन् संवेदनशील हुने र यस अवधिमा सम्प्रेषित समाचार र समाचार-सामग्रीका कारण मतदाता प्रभावित हुन सक्ने अवस्था रहने वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘राजनीतिक दल वा उम्मेदवारको निर्वाचनसम्बन्धी कुनै पनि विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार-प्रसारका सामग्री पोष्ट वा शेयर नगर्न, लाइक, कमेन्ट, प्रतिकमेन्ट गर्न, समाचार प्रकाशन वा प्रसारण नगर्न, राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापन, टक सो, टिप्पणी, विश्लेषण प्रश्नोत्तर जस्ता कार्यक्रम नगर्न’ उक्त विज्ञप्तिमार्फत सजग गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे