एमालेबाट राप्ती गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका पोख्रेल वडा नम्बर १ को घरदैलोमा व्यस्त
भालुवाङ १६ वैशाख । दाङको राप्ती गाउँपालिका अध्यक्षमा एमालेबाट उम्मेदवारी दिएका जगतप्रसाद पोख्रेल चुनावी घरदैलो अन्तरगत आज वडा नम्बर १ को विभिन्न टोल बस्तीमा घरदैलो तथा चुनावी सभा कार्यक्रम सम्पन्न गरेका छन् ।
वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनमा राप्ती गाउँपालिकालाई एमालेमय बनाउन पोख्रेल चुनावी घरदैलो तथा चुनावी भेला अभियानमा व्यस्त भएका छन् । राप्ती उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहेका उद्योगपति पोख्रेल शुक्रबार विहानै वडा नम्बर १ को विभिन्न टोल बस्तीमा घरदैलो तथा चुनावी सभा गरेका छन् ।
राप्ती गाउँपालिकालाई सुखी र सम्वृद्व गाउँपालिका बनाउने लक्ष्य बोकेर पोख्रेल चुनावी अभियानमा होमिएका हुन् । विकास निर्माणका पुर्वधार, शिक्षा, स्वास्थ्य, कृषि, राजधानी व्यवस्थापन, फोहोर मैला व्यवस्थापन लगायतका महत्त्वपूर्ण एजेन्डा रहेका छन् ।
यसै क्रममा शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर १ को बगासोती, आँपखोली टोल, पुरानो भालुवाङ, पुल्चोक बजार, पाखापानी लगायतका क्षेत्रमा घरदैलो गर्नुका साथै चुनावी सभा समेत सम्पन्न गरेको छ ।
आँपखोली टोलमा भएको चुनावी सभालाई सम्बोधन गर्दै पोख्रेलले राप्ती गाउँपालिका क्षेत्रका कुनै पनि नागरिक भुमिहिन हुनु नपर्ने बताउँदै आफु विजय भए पहिलो काम लालपुर्जा उपलब्ध गराउने बताए । त्यस्तै उनले सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने मुख्य योजना रहेको बताए ।
त्यस्तै उपाध्यक्ष पदकी उम्मेदवार कमलापती चाैधरीले आफू कम्लहरीबाट आएको र आफू निम्न स्तरको परिवारमा हुर्केका ले मुक्त कमैया, कम्लहरी, सुकुम्बासी, पछाडि परेको वर्ग, उत्पीडित नागरिकहरूको सेवामा खट्ने बताएकी थिइन् । त्यसैले सुर्य चिन्हमा मतदान गरि एमालेलाई अत्यधिक मतले विजय बनाउन आग्रह समेत गरेकी थिइन् ।
वडा अध्यक्ष पदकी उम्मेदवार गेमबहादुर खड्काको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जगतप्रसाद पोख्रेलको प्रमुख आतिथ्यता र उपाध्यक्ष पदकी उम्मेदवार कमलापती चाैधरीको विशिष्ट आतिथ्यता कार्यक्रम भएको हो । कार्यक्रमको सञ्चालन महिला सदस्य पदकी उम्मेदवार पार्वती सुवेदीले गरेकी थिइन् ।