वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन निर्वाचन आयोगको सिफारिस



वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन निर्वाचन आयोगको सिफारिस

काठमाण्डाै १५ बैशाख । निर्वाचन आयोगले पालिका चुनावको मतदानको दिन यही वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ । आयोगमा भएको पत्रकार सम्मेलनमा आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदानको दिन ३० गते शुक्रवार नेपालभरि सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न वैशाख २८ देखि ३० गतेसम्म विद्यालयको उपयोग गर्नुपर्ने भएकाले, विद्यार्थीको भौतिक उपस्थिति नगराउन तथा मतदानस्थल तथा मतदान केन्द्र तोकिएका, वडा र स्वास्थ्य चौकीका भवन र भौतिक संरचना मतदानका लागि उपयोग गर्न २८ देखि ३० गतेसम्म उपलब्ध गराउन सङ्घीय मन्त्रालयमर्फत पालिकालाई लेखेर पठाउने पनि निर्णय गरेको छ।

यस्तै, आजसम्म ७२ जिल्लाका १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ भइसकेको र ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ । आयोगले जगेडासहित यो वर्ष एक करोड ९४ लाख थान मतपत्र छाप्दैछ । यस्तै, आजसम्म प्रविष्ट भएको तथ्याङ्कअनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता  भएको पनि आयोगका सहप्रवक्ता अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे