प्यूठानको झिमरुकमा जनमोर्चाको नेतृत्वमा चुनाव लड्न गठबन्धनको ह्वीप



प्यूठानको झिमरुकमा जनमोर्चाको नेतृत्वमा चुनाव लड्न गठबन्धनको ह्वीप

प्युठान १० बैशाख । सत्ता गठबन्धनले झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको नेतृत्वमा चुनाव लड्न स्थानीय नेतृत्वलाई ह्वीप जारी गरेको छ। शुक्रबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन पाँच दलीय गठबन्धन लुम्विनी प्रदेशले पद भागबण्डा गरेको हो।

गठबन्धनले गाउँपालिका अध्यक्षसहित ४ वटा वडा अध्यक्ष राष्ट्रिय जनमोर्चालाई, उपाध्यक्षसहित एक वटा वडा अध्यक्ष नेकपा माओवादी केन्द्र र तीन वटा वडा नेपाली कांग्रेसलाई दिने सहमति गरेको हो। तर, स्थानीय स्तरमा यसको विरोध सुरु हुन थालेको छ।

सत्ता गठबन्धनका तीन दल माओवादी, कांग्रेस र राजमोका गाउँपालिका स्तरका नेताहरुले बिहीबार मित्रवत् व्यवहार गरेर एक्लाएक्लै चुनाव लड्ने लिखित सहमति गरेका थिए। त्यसअघि माओवादी र कांग्रेस मिलेर चुनाव लड्नेसमेत सहमति भएको थियो। ती दुवै निर्णय विपरित प्रदेशबाट ह्वीप जारी भएपछि नेता, कार्यकर्ताहरुले सामाजिक सञ्जालमा विरोध गरिरहेका छन्।

प्युठानका नौ स्थानीय तहमध्ये झिमरुकमा मात्र गठबन्धनले ह्वीप जारी गरेको हो। ऐरावती गाउँपालिकामा पनि सत्ता गठबन्धनमा सहमति हुन नसकेपछि लिखितरुपमै मित्रवत् व्यवहार गरी एक्लाएक्लै चुनाव लड्ने सहमति भएको छ।

तर, प्रदेशले ऐरावतीलाई ह्वीप जारी गरेको छैन। राष्ट्रिय जनमोर्चाको पटक-पटकको दबाबले प्रदेशले निर्णय गरेको माओवादी र कांग्रेसका नेताहरुले प्रतिक्रिया दिएका छन्। झिमरुकको जस्तो परिपत्र जिल्लाका अन्य स्थानीय तहमा नआएको ऐरावती गाउँपालिका उपाध्यक्ष एवं माओवादी केन्द्रका नेता बुद्धबहादुर बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे