निर्वाचन निष्पक्ष र निर्भय रुपमा सम्पन्न गर्न नागरिक समाज दाङको अपिल



निर्वाचन निष्पक्ष र निर्भय रुपमा सम्पन्न गर्न नागरिक समाज दाङको अपिल
घोराही ७ बैशाख । नागरिक समाजले दाङले आसन्न स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र निर्भय रुपमा सम्पन्न गर्न आग्रह गरेको छ । समाजको बुधबार घोराहीमा बसेको नियमित बैठकले बैशाख ३० गते हुने निर्वाचनका लागि गर्नु पर्ने मतदाता शिक्षालगायत मतदान निष्पक्ष, निर्भय र स्वतन्त्र तथा सहज रुपले मतदान गर्ने व्यवस्थाका लागि निर्वाचनसँग सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।
यस्तै, स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनौट गर्ने सन्दर्भमा स्थानीय तह निकै महत्वपूर्ण र स्थानीय सरकारसमेत रहेको हुँदा २०७९ बैशाख ३० गते हुने निर्वाचनका लागि समावेशीको आधारमा योग्य, क्षमतावान उम्मेदवार छनौट गर्न सबै दललाई ध्यानाकर्षण गराएको छ । साथै, स्थानीय तहको निर्वाचन लक्षित जिल्ला निर्वाचन कार्यालय दाङसँग केही दिनमै निर्वाचनलाई निष्पक्ष र मर्यादित रुपमा सम्पन्न गर्न छलफल गर्ने भएको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले बैठक पछि जानकारी गराए ।
यसैगरी, केही दिनअघि नागरिकको स्वास्थ्य सेवा प्रभावकारी बनाउन भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका उपकुलपति विकास लामिछाने र नागरिक समाज दाङ बीच गरिएको अन्तरक्रियालाई प्रतिष्ठानले गम्भीरतापूर्वक लिएर सेवा सुविधा बिस्तार गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा नागरिकको सेवामा अझ सशक्त रुपमा प्रवाह गर्न अपिल पनि गरेको छ ।
बैठकले नागरिक समाजले निर्धारणको आचार संहिताभित्र रही सदस्यता बन्न ईच्छुक तुलसीपुर ६ मोतीपुरका नारायणप्रंसाद भण्डारीलाई साधारण सदस्यता दिने निर्णय गरेकोे नागरिक समाज दाङका सचिव श्रेष्ठले जानकारी दिए । बैठक समाजका संयोजक केबी मसालको अध्यक्षतामा बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे