महिला आकांक्षीको आक्रोश : हामीलाई अवसर नदिने हो भने ‘भाले दल’ बनाऊ



महिला आकांक्षीको आक्रोश : हामीलाई अवसर नदिने हो भने ‘भाले दल’ बनाऊ

घोराही ७ बैशाख । आसन्न दोश्रो स्थानीय तहको निर्वाचनमा महिलाहरुले आफ्नो प्रतिनिधित्व हुनबाट वञ्चित गर्न लागिएको प्रति गुनासो गरेका छन् । संविधानले महिलाको हकका बाध्यकारी व्यवस्था गरेपनि व्यहारिक कार्यान्वयनमा पुरुष प्रतिनिधिहरुले हस्तक्षेपकारी कदम चालेको आरोप लगाएका छन् ।

स्थानीय तहको निर्वाचन मिति नजिकिए सँगै राजीनितक दलका तर्फबाट गरिने उम्मेदवार सिफारिसमा महिलाहरु जहिले पनि दोश्रो नम्बरमा पर्ने गरेकाले यो पद्धति सच्याउनुपर्ने आवाज उठाएका छन् । महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङले मंगलबार आयोजना गरेको स्थानीय निर्वाचनमा महिला नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा जिल्लाभरबाट सहभागी महिलाहरुले पुरुष समान अधिकार पाउनुपर्ने र कार्यकारी भूमिका पाउनु पर्ने जोडदार आवाज उठाएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ की हरिकला वली मियाले महिलालाई निर्वाचनमा स्वतन्त्र रुपमा उठ्न रोक लगाउने काम पुरुष नेताबाट हुने गरेको बताईन् । उनले आन्दोलनमा समान रुपमा होमिएका महिलाई अहिले आएर यो वा त्यो बहानामा थिचोमिचो पार्ने काम भएको बताईन् । ‘स्वतन्त्र रुपमा उठ्न पुरुष साथीहरुबाट हामीलाई रोक लागेको छ,’ उनले भनिन्, हामी बारम्बार थिचोमिचो हुनुपरेको छ अब निर्णायक पदमा भुमिका चाहिन्छ ।’ बबई गाउँपालिका वडा नम्बर ३ की दिपा केसीले पुरुष समान अधिकार महिलाले पनि पाउनु पर्ने आवाज उठाउँछिन् ।

कार्यक्रममा स्टेज सजाउन र तालि पिट्न प्रयोग गरिने महिलाहरुलाई बारम्बार अवसरबाट वन्चित गरिएको तर्क गरिन् । ‘पुरुष समान अधिकार महिलाले पाउनुपर्छ, खाली हामीलाई कार्यक्रममा स्टेज सजाउन र तालि पिट्न प्रयोग भयो । यसरी राजनीति चल्दैन । हैन भने सबै भाले दल बनाए भै हाल्यो नी,’ उनले भनिन् । घोराही उपमहानगरपालिका वडा नम्बर १८ की प्रमिता चौधरी शर्माले पनि हिजो आन्दोलनका बेलामा महिलाले गरेको योगदान अनुसार कार्यकारी पदबाट महिलाहरुलाई वन्चित पारिएको बताउँदै बाध्यतात्मक अवस्थामा बाहेक अरु ठाउँमा पुरुषले महिलामाथि उपेक्षा गरेकाले यसको सशक्तीकरणका लागि बाध्यतात्मक कानुन कडाईका साथ कार्यान्वयन गर्न जिल्लाका सय वटै वडामा महिला– महिला बिच प्रतिष्पर्धा गराउन सक्नुपर्ने तर्क गरिन्।

‘हिजोको योगदान अनुसार महिलालाई सम्मान गर्न सकिएन, कार्यकारी पदमा वन्चित पारियो । बाध्यतात्मक अवस्थामा बाहेक अरु ठाउँमा पुरुषले महिलामाथि उपेक्षा गरे,’ उनले भनिन्, ‘बाध्यतात्मक कानुन नबन्दा सम्म महिला अधिकार कार्यान्वयन हुन सक्दैन । अब सय वटै वडामा महिला महिला बिच प्रतिष्पर्धा गराउन सक्नुपर्छ ।’ दंगीशरण गाउँपालिकाकी सितारा नेपाली वादीले पनि महिलाको सामुहिक मुद्दामा महिला नै एकजुट हुनुपर्ने बताउँछिन् । पछिल्लो समय पैसाको आडमा राजनीति गर्नेहरुले निष्ठाको राजनीति गर्नेहरुलाई पछाडी पार्ने काम गर्न थालेपछि उत्पीडित, गरिव महिलाले अधिकार कहिले पाउने भन्दै प्रश्न गरिन् । ‘महिलाको सामुहिक मुद्दामा महिला एकजुट हुनुपर्छ तर हामीमा विभेद छ ।

त्यसैले धन हुनेहरुले पैसाको राजनीति गर्न सिके, पैसाले राजनीति गर्ने कि विचारको राजनीति रु उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘उत्पीडित, गरिव महिलाले अधिकार कहिले पाउने रु निर्णायक तहमा बस्ने तर गुनासा नसुन्ने परिपाटीले समस्या समाधान गर्न चुनौति भएको छ । महिलालाई पनि काम गर्ने स्थान र अवसर दिनुस् ।’ तुलसीपुर उपमहानगरपालिकाकी सुष्मा लामिछाने गिरीले पुरुषसँग राजनीतिक अधिकारी माग्नु कुनै भीख मागे जस्तो नठान्न चेतावनी दिईन् । राजनीतिक मागलाई गम्भीरताका साथ लिन आग्रह गर्दै उनले महिलालाई पाखा लगाउने कामले लोकतन्त्र सबल बन्न नसक्ने तर्क गरिन् ।

‘महिलाले नेतृत्व हाक्न सक्छन् भन्ने विश्वास जगाउन अवसर चाहिन्छ । सहभागीतामा पनि महिलाको भुमिका निर्णायक हुनुपर्छ, उहाँले भन्नुभयो, ‘पुरुषसँग भीख होईन यो अधिकार मागेको हो । यो हाम्रो राजनीतिक माग हो । महिलालाई पाखा लगाउने कामले लोकतन्त्र सबल बन्न सक्दैन । संविधानले सबै ब्याख्या गरेपनि व्यवहारमा लागू हुन सकेन ।’ तर, घोराही १५ की विष्णु कालाथोकी भने आफु आवद्ध दलबाट महिलाहरुले अवसर पाएको दावी गरिन् । ‘जिल्लाको सय वटै वडामा महिलाले प्राथमिकता पाएका छन् ।

अध्यक्ष सहित पाँच वटै नेतृत्व चयन भएको हुँदा अरु स्थानमा पनि महिलाले भुमिका पाउने आशा छ,’ उनले भनिन्, ‘संविधानले प्रत्याभुत गरे अनुसार सर्वसहमतिमा सदस्यमा उमेदवार बनाइएको छ ।’ कार्यक्रममा सहभागी अधिकांश महिलाले यो पटकको स्थानीय निर्वाचनमा उमेदवारको आकांक्षा देखाएका छन् । जसका लागि अरुले दिएको पदमा नभई आफुले खोजेको पदमा प्रतिनिधित्व हुनुपर्ने उनीहरुको माग छ ।

अवसर दिए पुरुष उम्मेदवारले भन्दा राम्रो काम गरेर देखाईदिने उनीहरुको विश्वास छ । कार्यक्रममा राजनीतिक दलका तर्फबाट राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, लुम्बिनी प्रदेश सदस्य दामा शर्मा, नेपाल महिला संघकी अध्यक्ष गोमा रावत, नेपाली कांग्रेस दाङकी सचिव बालिका लम्साल, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, नेकपा समाजवादीकी मिना गुरुङलगायतले सहभागीहरुबाट उठेका जिज्ञासा सम्बोधन गरेका थिए ।

महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङकी संस्थापक अध्यक्ष लक्ष्मी आचार्यले संस्थाले खेल्दै आएको भुमिकाका बारेमा प्रकाश पारेकी थिईन् । सञ्जालकी अध्यक्ष सुशीला पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष अनिता पोख्रेलले गरेकी थिईन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे