गढवाकाे ५ नम्बर वडामा एमालेबाट महिलै महिलाहरुको उम्मेदवारी सिफारिस



गढवाकाे ५ नम्बर वडामा एमालेबाट महिलै महिलाहरुको उम्मेदवारी सिफारिस

भालुवाङ १ वैशाख । आसन्न बैशाख ३० को स्थानीय निर्वाचनका लागि देउखुरीको गढवा गाउँपालिका वडा नं. ५ मा नेकपा एमालेको तर्फबाट महिलै महिलाहरुको निर्विरोध उम्मेदवारी पार्टीबाट सिफारिस भएको छ । चैत्र २७ र २८ मा बसेको पार्टीको वडा तथा गाउँपालिका भेलाबाट वडा अध्यक्ष देखि सबै सदस्यहरुमा समेत पाँचै जना महिलाहरुको नाम उमेदवारीका लागि जिल्ला पार्टीमा सिफारिस भएको पार्टीका सहइन्चार्ज खिमबहादुर बुढामगरले जानकारी दिए ।

महिलाहरुलाई राज्यको नेतृत्व तहमा जान अवरोध गर्ने नेपाली संस्कार र परम्परालाई चिर्दै एमालेको तर्फबाट दाङको गढवा गाउँपालिका वडानं. ५ मा वडा अध्यक्ष देखि सदस्य सम्म सबै पदमा महिलाहरुले उमेदवारी दिने निश्चित भै सकेको पार्टीले जनाएको हो । जस अनुसार अध्यक्ष पदकालागि सिता थापाको उमेदवारी टुंगो लागेको छ । त्यस्तै खुल्ला सदस्यहरुमा बर्षा पाण्डे,शान्ती चौधरी,महिला सदस्यका लागि प्रतिमा चौधरी र दलित महिला सदस्यमा जिबी बिकको उमेदवारी टुंगो लागेको नेकपा एमाले गढवाका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए ।

वडा अध्यक्ष जिते भने डटेर काम गर्ने हिम्मतका साथ उमेदवारी दिने निधो गरेकी हुँ–वडा अध्यक्ष पदका उमेदवार सिता थापाले भने । महिलाहरुको नेतृत्वमा हुने काम पारदर्शी हुन्छ त्यसैले पनि पार्टीले महिलाहरुलाई बिश्वाँस गरेर अगाडी सारेकोमा खुसी लागेको छ । निर्वाचन जितेंभने आम जनताहरुको मन जितेर काम गर्ने छु–थापाले भन्नुभयो । महिलाहरुको नेतृत्वले बिजय हाँसिल गरेमा पाँच बर्षमा आफ्नो वडालाई जिल्लाकै नमूना बनाउने छौं उनले भनिन् ।

एमाले गढवाका वडा नं. ७ बाहेकका सबै वडाहरुमा सर्बसम्मत उमेदवारी टुंगो लागिसकेको छ । वडा नं. ७ मा भने वडा अध्यक्ष पदका लागि ६ जना आकांक्षी देखिएका छन् । त्यस्तै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा पनि तिन–तिन जना आकांक्षीको नाम जिल्लामा सिफारिस भएको एमाले गढवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे