चुनावी तालमेलको लागि मापदण्ड बनाउने कांग्रेसको तयारी



चुनावी तालमेलको लागि मापदण्ड बनाउने कांग्रेसको तयारी

काठमाण्डाै १४ चैत । नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा तालमेलको लागि मापदण्ड बनाउने तयारी गरेको छ ।

शुक्रवार देखि सुरु भएको केन्द्रीय समिति बैठकमा धेरै नेताहरुले तालमेल गर्नुपर्ने सुझाव दिएपछि यसबारे मापदण्ड बनाउने तयारी भएको हो । पहिले जितेका सिट सुरक्षित राखेर अन्यत्र माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने कांग्रेसको तयारी छ ।

२०७४ सालको स्थानीय तह चुनावमा ७५३ स्थानीय तहमध्ये कांग्रेसले २ सय ५३ तहमा जितेको थियो । महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाट तथा नगरपालिका र गाउँपालिकामा स्थानीय राजनीतिक नेतृत्वसँगको सहमतिका आधारमा तालमेल गर्ने कांग्रेसको तयारी छ ।

केन्द्रीय समिति बैठकमा नेताहरुले पार्टीभित्र एकता र विश्वासको वातावरण मिलाएर तालमेल गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आबद्ध दलबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल हुने बताउँदै आएका छन् ।

सभापति देउवासँगै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला लगायतकाहरु नेताहरु पनि चुनावी तालमेलको पक्षमा छन् । शेखर कोइराला पक्षका नेताहरुले भने कसैसँग तालमेल नगरि एक्लै चुनावमा जानुपर्ने बताउँदै आएका छन् ।

विमलेन्द्र निधि लगायतका केही नेताहरु पनि कसैसँग तालमेल नगरि एक्लै चुनावमा जानुपर्ने पक्षमा छन् । तर केन्द्रीय समिति बैठकमा बहुमत सदस्यले तालमेल गर्नुपर्नेमा जोड दिएका छन् ।

स्थानीय तह चुनावको तयारी, दलहरुबीच तालमेल, संसदीय समिति गठनलगायतका विषयमा कांग्रेसले गएको शुक्रवारदेखि केन्द्रीय समिति बैठकमा छलफल गर्दै आइरहेको छ । केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे