बाउन्नेपाटाका किसानहरु मिनिटिलर पाउँदा खुसी
भालुवाङ २४ फागुन । राप्ती गाउँपालिका वडा नम्बर २ बाउन्नेपाटाका किसानहरु मिनिटिलर पाउँदा निकै खुसी भएका छन् । राँगा तथा गोरुले खेतवारी जोत्दै आएका किसानहरु मिनिटिलर पाउँदा निकै खुसी भएका हुन् ।
राप्ती गाउँपालिकाको विकट वडाहरुको रुपमा रहेको बाउन्नेपाटा गाउँका किसानहरुलाई खेतीपाती गर्न सहज होस भन्नका राप्ती गाउँपालिका वडा नम्बर २ ले मंगलवार बाउन्नेपाटा टोल विकास संस्थालाई ३ वटा मिनिटिलर वितरण गरेको छ । मिनीटिलर पाउँदा त्यहाँका किसानहरु खुसी भएका छन् ।
राँगा तथा गोरु भन्दा यान्त्रिक मेसिनले जोत्दा सजिलो हुने स्थानीय किसान टिकाबहादुर बुढा मगर (तुलसी) र कालि बुढामगरको भनाई रहेको छ । भालुवाङ बजार देखि करिव साढे १० किलोमिटरको दुरीमा रहेको सो गाउँमा प्राय मगरहरुको बसोबास रहेको छ । यहाँका अधिकाशं मानिसहरु खेतीपाती गर्दछन् ।
वडा कार्यालयले किसानलाई यान्त्रिक उपकरण सँग जोड्न तथा किसानलाई कृषि आधुनिकीकरण तर्फ आकर्षित गर्न र लागत घटाई उत्पादन बढाउन २ लाख बजेटबाट ३ वटा मिनिटिलर वितरण गरेको वडा अध्यक्ष जगतबहादुर थापाले जानकारी दिएका छन् ।
वडाका किसानमा खेतबारी जोत्नका लागि यस किसिमका मिनी टिलरको आकर्षण बढ्न थालेको छ । स्थानीय सरकारले किसानलाई बेलाबखतमा यान्त्रिक उपकरण दिएर कृषकहरुलाई प्रोत्साहन समेत दिदै आएको छ ।

बाउन्नेपाटा टोल विकास संस्थाका अध्यक्ष टिकाबहादुर बुढा मगर (तुलसी) को अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका कृषि शाखाका प्राविधिक सहायक बरसाती गडरिया, वडा नम्बर २ का वडा सदस्यहरु बसन्त नेपाली, पिमा गाहा मगर, लालबहादुर चौधरी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कृषि शाखाका प्राविधिक सहायक सिमा भट्टले गरेकी थिइन् ।

