राप्ती नदी तटबन्धमा ठेकेदारको चरम लापरबाही : स-साना ढुंगा हालेर तटबन्ध गरिदै
सिसहनियाँ २२ फागुन । राप्ती नदीमा भइरहेको तारजाली तटबन्धमा ठेकेदारको चरम लापरबाही देखिएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुर देखि गढवा गाउँपालिका ३ भुतपुर सम्मको १ हजार २ सय मिटर राप्ती नदीको उत्तर साइडमा भइरहेको तटबन्धमा ठेकेदारले ठुला ठुला ढुंगा हाल्नु पर्नेमा स साना ढुंगा हालेर काम गरेपछि स्थानीयहरूले विरोध जनाउन सुरू गरेका हुन् ।
सिचाई मन्त्रालयबाट प्राप्त ६ करोड बजेटबाट प्रगन्ना बड्कापथ सिचाई आयोजना लमहीले सुनछहारी निर्माण सेवा प्रालि मार्फत काम गराउन सुरू गरेको छ । सम्झौता भएको मितिले आउँदो २०७९ असार २५ गते सम्म तटबन्धको सक्नु पर्ने भएको छ । यता कम्पनीका सहायक इन्चार्ज बालाराम बुढामगरले भने स्टिमेट अनुसार काम भएको बताएका छन् । काम गर्ने बेला केही कमजोर भएको हुन सक्छ त्यसलाई आफुले सुधार गर्दै लैजाने बताए ।
तार जाली तटबन्ध अन्तरगत हाल सम्म ७ सय मिटर ड्याम उठाउने र २ सय मिटर लन्चिङ जाली भर्ने काम भएको छ । भइरहेको काममा प्रगन्ना बड्कापथ सिचाई आयोजनाले अनुगमन नगर्दा ठेकेदारले लापरबाही गरेको देखिन्छ । काममा भएको लापरबाहीलाई आफुले गम्भीर रूपमा लिएको र सम्बन्धित ठेकेदारलाई तुरुन्त सुधार गर्न निर्देशन दिने बड्कापथ जल उपभोक्ता मुल समन्वय समितिका अध्यक्ष राजेश चौधरीले बताएका छन् ।
राप्ती नदीमा भइरहेको तटबन्धको काममा संवेदनशील नहुने हो भने यसले बाढी नियन्त्रण होइन ठुलो नोक्सानी बेहोर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले जुनसुकै काममा पारदर्शी भए नभएको नागरिक स्तरबाटै खवरदारी गर्न आवश्यक छ ।


