देउखुरीमा प्रादेशिक बाल अस्पताल सञ्चालनको तयारी भइरहको छ : मन्त्री थारु



देउखुरीमा प्रादेशिक बाल अस्पताल सञ्चालनको तयारी भइरहको छ : मन्त्री थारु

सिसहनियाँ ७ फागुन । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा प्रादेशिक बाल अस्पताल सञ्चालनको तयारी भइरहेको बताएका छन् ।
देउखुरीको राप्ती गाउँपालिका—५, सिसहनियाँ स्थित सिसहनियाँ स्वास्थ्य चौकीमा निर्माण गरिएको जग्गादाता देवीबहादुर रावत र कमलबहादुर रावतको सालिक अनाबरण गर्दै मन्त्री थारुले यस्तो बताएका हुन् ।

मन्त्री थारुले प्रादेशिक बाल अस्पताल सञ्चालनका लागि अहिले देउखुरीमा सम्भाव्यता अध्ययनको काम भईरहेको बताउँदै आफु पनि लागि परेको बताए । कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै मन्त्री थारुले अब छिटै देउखुरीको चार वटै पालिकामा १५ शैयाको अस्पतालको निर्माण कार्य शुरु हुने बताए ।

उनले चार वटै पालिकामा निर्माण हुन लागेको अस्पतालको पूर्वाधार निर्माण, आवश्यक जनशक्तिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री थारुले स्थायी राजधानी व्यवस्थापनका लागि देउखुरीबासीको काँधमा ठुलो जिम्मेवारी आएको बताए । उनले राजधानी व्यवस्थापनका लागि देउखुरीमा रहेका सम्पूर्ण राजनितीक दल र देउखुरीबासी जनताको सहयोग आवश्यक रहेको बताए ।

राप्ती गाउँपालिका—५, कालापानीका बसन्तकुमार रावत तथा रावत परिवारको आयोजनामा भएको सालिक अनावरण कार्यक्रममा पूर्व सांसदद्धय शुशिला चौधरी, रुकमिणी चौधरी, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, गाउँपालिका प्रवक्ता तथा ७ नम्बर वडाध्यक्ष विद्याशरण चौधरी र सिसहनियाँ शहरी खानेपानी तथा सरसफाई व्यवस्थापन समितीका अध्यक्ष शान्तराज शर्मा लगायतका बोल्ने बक्ताहरुले सिसहनियाँ क्षेत्रमा स्वास्थ्य र शिक्षाको विकासका लागि रावत परिवारको योगदानको प्रशंसा गरेका थिए ।

रावत परिवार अगुवा तथा सिसहनियाँ स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष तथा ५ नम्बर वडाध्यक्ष गोवद्धन रावतको अध्यक्षतामा भएको कार्यक्रममा रावत परिवारले स्वास्थ्य चौकीलाई ११ हजार बढीको विभिन्न स्वास्थ्य समाग्री प्रदान गरिएकाे थियाे । साे अवसरमा स्वास्थ्य चौकीका उत्कृष्ट कर्मचारी र स्वयसेविकालाई पुरुस्कृत गर्नुका साथै सम्मान गरिएको थियो ।

यसरी पुरुस्कृत हुनेमा कर्मचारीको तर्फबाट ल्याप असेस्टेन रमेश चौधरी, कार्यालय सहयोगी माया चौधरी र महिला स्वास्थ्य स्वयम्सेविका इन्द्रिका दर्लामीमगर रहेका थिए । स्वास्थ्य चौकी व्यवस्थापन समितीका उपाध्यक्ष गंगाराम भट्टराईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी प्रमुख धनबहादुर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे