लमही खानेपानीमा पदभार तथा शपथ ग्रहण : चुनाको समस्या हटाउन प्रविधि जडान गरिने



लमही खानेपानीमा पदभार तथा शपथ ग्रहण : चुनाको समस्या हटाउन प्रविधि जडान गरिने

लमही २५ माघ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नव निर्वाचित अध्यक्ष जंगबहादुर चौधरीलाई निर्वाचन अधिकृत कुलचन्द्र पौडेलले मंगलवार एक कार्यक्रमका बिच सपथ खुवाएका हुन् ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष जंगबहादुर चौधरीले अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाएका थिए । सपथ ग्रहण पश्चात् निर्वाचन संयोजक कुलचन्द्र पौडेलले पदाधिकारीहरुलाई प्रमाण—पत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित अध्यक्ष जंगबहादुर चौधरीले तोकिएको जिम्मेवारी इमान्दारी र निष्ठापूर्वक सम्पादन गर्ने विश्वास दिलाएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरुले संस्थामा पदभार समेत सम्हालेका छन् । गत शनिवार भएको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा संयुक्त लोकतान्त्रिक ( गठबन्धन) को प्यानल बिजयी भएको थियो । संस्थाको निर्वाचन समितिले आयोजना गरेको सपथ ग्रहण, प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा गत शनिवार सम्पन्न भएको निर्वाचनबाट नवनिर्वाचित पदाधिकारीले सपथ तथा पदभार ग्रहण गरेका छन् ।

शपथ ग्रहण लगत्तै नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समिति र संस्थाका कर्मचारीहरुले पुष्पगुच्छासहित स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै नवनिर्वाचित लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष जंगबहादुर चौधरीले नतिजामुखी कार्यसम्पादन गर्न सबैको सहयोग आवश्यक रहेको कुरा बताए ।

कार्यक्रममा निर्वाचन अधिकृत कुलचन्द्र पौडेल, निवर्तमान अध्यक्ष डण्डीराम चौधरी, उपाध्यक्ष लिला शाह, सल्लाहकार कर्णबहादुर बुढाथोकी, कार्यालय सचिव भगवती चौधरी लगायतले बोल्नुभएको थियो । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव भगवती चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण निवर्तमान सचिव सनमकुमार पौडेल र सन्दिप न्यौपानेले गरेका थिए । कार्यक्रममा निर्वाचन संयोजक अध्यक्ष कुलचन्द्र पौडेल, सदस्य भानु जोसि, विष्णुप्रसाद पौडेललाई कदरपत्र प्रदान गरिएको थियो ।

खानेपानीमा चुनाको समस्या हटाउन प्रविधि जडान गरिने
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष जंगबहादुर चौधरीले खानेपानीमा चुनाको समस्या अन्त्य गर्ने प्रतिवद्धा जनाएका छन् । खानेपानीमा चुनाको समस्या हटाउनका लागि प्रविधि जडान गरिने भएको अध्यक्ष चौधरीले बताए ।

चुनाका कारण उपभोक्ता स्वास्थ्य क्षेत्रमा पर्न गएको असर र लमही खानेपानीका पाइपहरु अवरुद्धभई खानेपानी आपूर्तिमा समस्यालाई मध्यनजर गर्दै प्रविधि जडान गरिने उनले बताए । लमही खानेपानीमा प्रविधि जडानपछि चुनाको समस्या समाधान भई सहजरुपमा उपभोक्ताले पानी उपभोग गर्न पाउने उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे