झोलुंगे पुलले गाउँ र शहरलाई जोड्ने छः शर्मा



झोलुंगे पुलले गाउँ र शहरलाई जोड्ने छः शर्मा
लमही ३ माघ । मसोट खोला स्थित वर्सेवा घाटमा निर्माण भएको झोलुंगे पुलको सोमवार उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले पुलको उद्घाटन गर्दै पुलले गाउँ र शहरलाई जोड्ने भएकाले सुविधा उपभोगमा सहज हुने बताए ।‘निश्चय पनि यहाँको समस्याहरु केही हद सम्म कम गर्न यो पुलले मद्धत गर्ने छ’शर्माले भने–‘बर्षामा भोग्नुपर्ने समस्याहरु यो पुलले पक्कै पनि कम गर्ने छ ।
उपभोक्ता समितिका अध्यक्ष अमित बुढामगरको अध्यक्षता तथा प्रदेश सभा सदस्य शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई घोराही उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष माधव चौधरीले सम्वोधन गर्दै वडा कार्यालय र उपमहानगरपालिकाबाट मसोट क्षेत्रको विकासको लागी ध्यान दिइएको बताए ।
नेकपा एमाले क्षेत्र नं. १ का ईञ्चार्ज नारायण डिसी छम्पालीले विकास नपुगेका खोला तथा नाका क्षेत्रमा प्राथमिकताका साथ योजनाहरु परेको र कार्यान्वयन गरिएको बताए ।
सेवा प्रतिष्ठान नेपालका जिल्ला संयोजक दिपेश गौतमले चालु आर्थिक बर्षमा ९ स्थानीय तहमा १५ वटा झोलुंगेपुल निर्माण भैरहेको जानकारी दिए । स्थानीय सरकार, दातृ निकाय संगको साझेदारीमा झोलुंगे पुल निर्माण भैरहेका हुन । राप्ती गाउँपालिका, दंगिशरण गाउँपालिका र शान्तीनगर गाउँपालिकामा एक/एक वटा झोलुंगे पुल बन्दै छन् ।
गढवा गाउँपालिका, राजपुर गाउँपालिका, लमही नगरपालिका, बंगलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकामा २/२ वटा झोलुंगे पुल निर्माण भैरहेका छन् । यही आर्थिक बर्षमा यि पुलको निर्माण सकिने छ । टोल विकास संस्थाका अध्यक्ष हस्तराम बुढाथोकीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन बुद्धिराम पुनले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे