काेराेनाकाे तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश-२०७८ जारी



काेराेनाकाे तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश-२०७८ जारी

काठमाण्डौ २ माघ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ ।

सरकारले सङ्घीय सरकार, प्रदेश र पालिकाबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट पनि स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद्को शुक्रवारको बैठकका निर्णय सार्वजनिक गर्दै उनले सरकारले तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय भएको बताए ।

यस्तै सरकारले कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै माघ १५ गतेसम्मलाई मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । माघ १५ गतेसम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय गरेको छ ।

धेरै जना भिडभाड हुने गतिविधि पनि माघ मसान्तसम्म नगर्ने, बैठक, गोष्ठी, समीक्षा जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने र भौतिक रुपमै उपस्थित भएर गर्नुपरेमा एण्टीजेन परीक्षण गर्ने र जनस्वास्थ्यका मापदण्डको पालन गर्ने लगायतका निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।

सरकारले कलेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ । ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ। यस्तै सपिङ मल, डिपार्टमेन्ट स्टाेर तथा पार्टी प्यालेसहरु ससर्त सञ्चालन गर्न दिइने भएको छ ।

सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ । मास्क अनिवार्य गरिएको छ ।

साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, व्रतबन्ध जस्ता धार्मिक सांस्कृतिक कार्य सञ्चालन गर्न सक्नेछन् । तर, कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने छ । र, बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् ।

साथै धार्मिक स्थलमा नित्य पूजा मात्रै गर्न पाइने छ । दशरथ रङ्गशाला प्रवेशमा पनि माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गरिएको छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे