तमु ल्होसार पर्वको सार्वजनिक विदा माग गर्दै राप्ती गाउँपालिकामा ज्ञापन पत्र



तमु ल्होसार पर्वको सार्वजनिक विदा माग गर्दै राप्ती गाउँपालिकामा ज्ञापन पत्र

भालुवाङ ७ पुस । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद कार्यसमिति राप्ती गाउँपालिकाले राप्ती गाँउपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई तमुहरुको महान पर्ब तमु ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा प्रदान गर्न ज्ञापन पत्र बुझाएको छ ।

परिषद कार्यसमिति राप्ती गाउँपालिका अध्यक्ष लुमबहादुर गुरुङ, सचिव रिमबहादुर गुरुङ तथा अन्य पदाधिकारी सहितको टोलीले स्थानिय सरकारले सार्वजनिक रुपमा सबैका लागि तमु ल्होसार पर्वको अवसरमा विदाका लागि माग गरिएको हो ।

सो ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले सार्वजनिक विदा दिने बारेमा कार्यपालिका बैठकमा प्रस्ताव लैजाने बताए।

तमु ल्होसार पर्वको अवसरमा पुरानो ल्वों ल्होंलाई विदाई गर्दै नयाँ तो ल्होंलाई स्वागत गर्ने गरिन्छ । तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दू जातिको पात्रो बिकम सम्बतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो ।

तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्ये शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ ।

ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ ।

ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् ।

अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरूसँग रमाइलो गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे