लुम्बिनी प्रदेशमा लक्षण देखिएका कोरोना संक्रमितको निःशुल्क उपचार हुन्छ: मुख्यमन्त्री पोख्रेल



लुम्बिनी प्रदेशमा लक्षण देखिएका कोरोना संक्रमितको निःशुल्क उपचार हुन्छ: मुख्यमन्त्री पोख्रेल

देउखुरी टुडेकर्मी, भालुवाङ ४ कार्तिक ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशभित्र रहेका चारवटा कोरोना विशेष अस्पतालबाट लक्षण देखिएका सबै कोरोना संक्रमित नागरिकको उपचार निःशुल्क रुपमा हुने बताएका छन् ।

आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत उनले लक्षणसहितका कोरोना बिरामीलाई कोरोना विशेष अस्पतालबाट दिइदै आएको निशुल्क उपचार सेवा यथावतै रहेको जानकारी दिएका हुन् ।

यसअघि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड लागु गर्दै निःशुल्क कोरोना परीक्षणका लागि लक्षित समूह तोकेको थियो ।

मन्त्रालयका अनुसार आर्थिक रूपले विपन्न अशक्त, असहाय नागरिक, असहाय एकल महिला, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकलाई निःशुल्क पीसीआर परीक्षण गरिने तथा अग्रस्थानमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी, जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको मात्र निःशुल्क कोरोना परीक्षण हुने व्यवस्था गरेको छ ।

अन्य सर्वसाधारणले भने पैसा तिरेर कोरोना परिक्षण तथा उपचार गर्नुपर्ने प्रावधान मन्त्रालयले बनाएको छ । तर संघीय सरकारले बनाएको मापदण्डका अलावा मुख्यमन्त्री पोखरेलको आफ्नो प्रदेशमा पहिलेकै सेवा यथावत रहने बताएका छन् ।

लुम्बिनी प्रदेशमा दाङको बेलझुण्डीको कोरोना विशेष अस्पतालसँगै बाँके, र रुपन्देहीमा गरी ४ वटा कोरोना विशेष अस्पताल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे