महासंघद्वारा  सञ्चारकर्मी सुनारमाथि लुटपाट गर्नेलाई पक्राउ गरी कार्वाही गर्न माग



महासंघद्वारा  सञ्चारकर्मी सुनारमाथि लुटपाट गर्नेलाई पक्राउ गरी कार्वाही गर्न माग

दाङ ३ कार्तिक ।  दाङको तुलसीपुर स्थित रेडियो हाम्रो पहुँचमा कार्यरत पत्रकार सविता सुनार माथि भएको लुटपाटसँगै दुब्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो ध्यानाकर्षण भएको भन्दै आपत्ति प्रकट गरेको छ ।

कार्यालयबाट काम सकेर घर फर्केने क्रममा आइतबार साँझ ७ बजे तुलसीपुरको गुल्मचोक नजिकै ओम शान्ति सिनेमा हल अघि केही लुटेराहरुले उहाँमाथि लुटपाट गर्नुका साथै दुव्र्यवहार गरेका थिए । मोटरसाइकलमा आएका दुई जना लुटेराहरु पत्रकार सुनारको एक थान एन्ड्रोइड मोबाईल, केहि सुनका गरगहना लगायत लुटपाट गरेका छन् । उक्त घटनाप्रति महासंघले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै दोषिलाई छिटो पक्राउ गरी कानुन बमोजिम कार्वाही गर्न माग समेत गरेको छ ।

‘कोभिड-१९ को जोखिमका बावजुद पनि जनतालाई सुचना प्रदान गर्ने आफ्नो जिम्मेवारी पुरा गरिरहेकी सञ्चारकर्मीमाथि भएको यस्तो घटनाको महासंघ कडा शब्दले आपत्ति तथा निन्दा प्रकट गर्दछ’, महासंघका सचिव भुपेन्द्र वलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म पनि दोषि पक्राउ नपरेको अवस्थामा तत्काल दोषिलाई पक्राउ गरी कानुनी कारवाहीमा ल्याउन हामी सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराउँदछौं ।’ साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पनि महासंघले माग गरेको छ । महासंघले सबै सञ्चारकर्मीले सुरक्षित रुपमा आफ्नो जिम्मेवारी पुरा गर्ने वातावरण बनाईदिन पनि दाङ प्रहरी तथा प्रशासन समक्ष माग गरेकोे छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे