देउखुरीमा हुने माओवादी केन्द्रकाे प्रदेश सम्मेलनलाई प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने



देउखुरीमा हुने माओवादी केन्द्रकाे प्रदेश सम्मेलनलाई प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

भालुवाङ २१ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको लुम्बिनी प्रदेश स्तरीय प्रथम सम्मेलनकाे उद्घाटन पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड भर्चुअल माध्यमबाट गर्ने भएका छन् । लुम्बिनी प्रदेशकाे स्थायी राजधानी राप्ती गाउँपालिका २ बराखुटीमा  मंसिर २५ र २६ गते हुन लागेकाे प्रदेश सम्मेलनकाे उद्घाटन गर्न प्रचण्ड देउखुरी आउने कार्यक्रम रहेकाेमा काेराेनाकाे नयाँ भेरियन्ट नेपालमा पनि फेला परेकाले सम्मेलनकाे उद्घाटन भर्चुअल माध्यमबाट गर्न लागिएकाे पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष श्यामेश चाैधरीले जानकारी दिएका छन् ।

यसै बीच सम्मेलनको तयारी समेत तिब्र पारिएको सम्मेलन प्रचार प्रसार समितिका संयोजक जीवन गौतमले जानकारी दिएका छन् । लुम्बिनी प्रदेशमा दुई सय ५ सदस्यीय कमिटीमा एक सय ९ ओटै स्थानीय तहबाट भौगोलिक उपस्थिति हुने भएको छ ।

जिल्ला संरचना खारेज भइसकेकाले माओवादीले पालिकाहरूलाई कार्यकारी बनाएको छ । अब पालिका, प्रदेश र केन्द्रीय समिति कार्यकारी रहने छन् । जिल्लामा भने पालिकाहरूलाई समन्वय गर्ने गरी जिल्ला समन्वय समिति बनाइने छ । पालिकाहरूको सम्बन्ध अव सिधै प्रदेश कमिटीसँग जोडिने माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सम्मेलन प्रचार प्रसार उप समितिका संयोजक जीवन गौतमले जानकारी दिए ।

गौतमका अनुसार लुम्बिनी प्रदेशमा एक सय ९ जना भूगोलबाट सदस्य छानिने छन् । बाँकी ७६ जना खुल्ला सदस्यहरू छानिनुपर्ने छ । कमिटीमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ । जस अनुसार लुम्बिनी प्रदेश कमिटीमा ७० जना अनिवार्य महिला सहभागिता हुने छ । त्यसैगरी १५ प्रतिशत अर्थात ३० जना दलितको सहभागिता हुने छ । मुस्लिमको सहभागिता ५ प्रतिशत अर्थात १० जना हुने छन् ।

माओवादी प्रदेश कमिटी पनि बहुपदीय हुने छ । अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव १ र कोषाध्यक्ष १ गरी सात सदस्यीय पदाधिकारी हुने छन् । सम्मेलनमा सहभागिताका लागि उपमहानगरपालिकाबाट अनिवार्य तीन जना र नगर तथा गाउँपालिकाबाट दुईदुई जना प्रतिनिधि हुनुपर्ने छ । अरु प्रतिनिधि सदस्य सङ्ख्याको आधारमा व्यवस्था गरिएको गौतमले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशमा माओवादीको कुल पार्टी सदस्य संख्या एक लाख १२ हजार रहेको छ ।

लुम्बिनी प्रदेशका १२ ओटा जिल्लामा सबैभन्दा बढी दाङ जिल्लामा रहेको छ । दाङ जिल्लामा रहेका १० ओटा स्थानीय तहमा कुल १९ हजार ७ सय पार्टी सदस्य संख्या रहेको छ । माओवादीले एक पद एक व्यक्तिको अवधारणा अघि सारेको छ । पार्टीको विधान अनुसार अब प्रदेश कमिटीमा रहने कुनै पनि नेता केन्द्रीय समितिमा रहन पाउने छैनन् । अहिले केन्द्रीय सदस्यहरू नै प्रदेश कमिटीको पदाधिकारी रहेका छन् । अब उनीहरूले कि त केन्द्रीय कमिटी छाड्नुपर्ने छ । कि त प्रदेश कमिटी छाड्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे