नाकामा खोप र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न स्वास्थ्य समितिको निर्देशन



नाकामा खोप र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न स्वास्थ्य समितिको निर्देशन

काठमाडाै २० मंसिर । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्न आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।

आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासहित सिंहदरबारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो।

‘ओमिक्रोन त्यति धेरै जटिल रहेनछ भन्ने कुरा हामीले बुझ्यौँ । ओमिक्रोनबाट बच्न र आम मानिसमा भय हुन नदिन शतर्कता अपनाउनुपर्छ भन्ने कुराको चेतना दिनुपर्छ। यो आइहाल्यो भने त हामीलाई गाह्रो हुन्छ, त्यसको पूर्व तयारीको लागि मन्त्रालय लाग्नुस्’, समितिकी सभापति जयपुरी घर्तीले निर्देशन दिइन्।

भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नाकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन्।

‘नेपालमा ओमिक्रोनको खतरा सबैभन्दा धेरै भारतबाट नै छ । त्यसैले भारतबाट आउने मानिस सबैलाई खोप लगाएको कार्ड र आउने बेला पीसीआर यी दुई वटा कुरामा मन्त्रालयले ध्यान दिनुपर्छ। अक्सिजन, भेन्टिलेटरको अवस्था के छ, त्यो बुझ्नुपर्छ। नेपालको समस्या के छ भने एकपटक प्रयोग गरेपछि भताभुङ्ग बनाउने गरेको छ। त्यसलाई व्यवस्थित गनुपर्छ,’ उनले भनिन्।

‘खोप लगाउने नियमित समय नतोकिकन खुल्ला राख्नुपर्छ। बाहिरबाट आएका मानिसलाई खोप नगरपालिका, गाउँपालिका र वडामा जतिबेला जान्छन् त्यतिबेला खोप लगाउने व्यवस्था गर्नुपर्छ। हामीले आह्वान गरेको दिन कसैले थाहा पाउला कसैले पाउँदैनन् यस्तो भयो भने सजिलो हुन्छ।’

सभापति घर्तीले कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पुर्‍याउने कुरा चाँडै कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिइन्। उनले ज्येष्ठनागरिकलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिइन्।

त्यस्तै सभापति घर्तीका अनुसार समितिले हरेक, वडा, गाउँपालिका र नगरपालिकामा कोरोना खोप लगाउने समय नतोकी जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। उनले कोरोनाको नयाँ भेरियन्टबाट बच्नको लागि अक्सिजन र भेन्टिलेटरको अवस्था बुझी आवश्यकताअनुसार जुटाउन र प्रयोग भइसकेका कुरालाई व्यवस्थित गर्न पनि निर्देशन दिइन्।

‘खोपलाई छिटो भन्दा छिटो जनताकोमा पुर्‍याउने कुरा, लगाउने कुरा मन्त्रालयको योजनामा राखिसक्नुभएको छ। हाम्रो समितिको अपेक्षा के हो भने यो कुरा चाँडै कार्यान्वयन होस् भन्ने आग्रह गर्न चाहन्छु’, सभापति घर्तीले भनिन्, ‘ज्येष्ठ नागरिकलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्दा राम्रो हुन्छ। किनकि थोरै हुन्छन्। त्यस्तो गरे सजिलो हुन्छ। यो व्यवस्था स्वास्थ्य मन्त्रायले गरोस्।’ सभापति घर्तीले अहिले राजनीतिक मुद्दा भन्दा पनि कोरोनाको तेस्रो भेरियन्टबाट जनताको ज्यानको सुरक्षातर्फ लाग्न पनि निर्देशन दिइन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे