आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस : नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै



आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस : नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै ४ मंसिर । आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस नेपाल पनि विविध कार्यक्रम गरी मनाइँदैछ । विश्वभर बालबालिकाको उत्थान र जीवनशैलीमा सुधारका लागि हरेक वर्ष नोभेम्बर २० तारिखमा यो दिवस मनाउने गरिन्छ । ‘बाल्यकालको कल्पना गरी हरेक बच्चाको लागि महामारीपछिको राम्रो संसार’ भन्ने नाराका साथ यसवर्ष बालअधिकार दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा हिजो बेलुका काठमाण्डौको रानीपोखरीमा निलो बत्ती बालिएको थियो । स्वास्थ्य मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा विभिन्न सङ्घसंस्थाको आयोजनामा निलो बत्ती बालिएको हो ।

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा राष्ट्रिय बालअधिकार परिषद्ले नेपालमा बाल अधिकारको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ । परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले सबै पालिकामा स्वयमसेवी समूह परिचालन गरी कोभिडका कारण अभिभावक गुमाएका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिएको बताए ।

परिषद्ले कोरोनाका कारण अभिभावक गुमाएका एक सय ६९ बालबालिकाको व्यवस्थापन सुरु गरेको छ । यी बालबालिकाको सरकारले अभिभावकत्व ग्रहण गर्ने नीतिअनुसार खोजी गरेको पनि उनले बताए। नेपालबाट हराएका कतिपय बालबालिकाका विदेशमा समेत भेटिएका छन् ।

बाल हेल्पलाइन सेवा र बालबालिका खोजतलास सेवाको विस्तार गरी राष्ट्रिय बाल संरक्षण प्रणाली मजबुत बनाउन जरुरी रहेको परिषद्ले जनाएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ मा भएको व्यवस्थाअनुसार स्थानीय बाल अधिकार समिति गठन आवश्यक भएको र पालिकालाई बजेट छुट्याउन समेत उनले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे