गलत क्रियाकलाप गर्ने जो कोहीलाई पनि छुट छैन : प्रजिअ रेग्मी



गलत क्रियाकलाप गर्ने जो कोहीलाई पनि छुट छैन : प्रजिअ रेग्मी

भालुवाङ ३ मंसिर । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गलत क्रियाकलाप जो कोहीलाई पनि नछोड्ने बताएका छन् । राप्ती प्रेस मञ्च राप्ती गाउँपालिका र राप्ती गाउँपालिकाले शुक्रवार गाउँपालिकाको कार्यालय मसुरीयामा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले समग्र दाङ जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्ने जिम्मेवारी आफ्नो भए पनि प्रहरी दरबन्दी न्युन भएका कारण शान्ति सुरक्षामा भने अनुसारको काम गर्न नसकिएको बताए । त्यसैगरी प्रजिअ रेग्मीले नागरिक सँग भएका जिज्ञासा तथा समस्या निर्धक्कका साथ राख्न सुझाव समेत दिए ।

उनले प्रहरी युनिट भित्र गलत क्रियाकलाप गर्ने प्रहरीलाई समेत तुरुन्त कानुनी दायरामा ल्याउने बताए । सञ्चार उद्यमी हेमराज धितालको हत्याका विषयमा पत्रकारबाट उठेको जिज्ञासामा प्रमुख जिल्ला अधिकारी रेग्मीले सञ्चार उद्यमी धितालको हत्याको विषयमा केन्द्रबाट अनुसन्धान भइरहेकोले यसमा आफुले पनि चासो राखेको बताए ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतमा  तथा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको विशिष्ट आतिथ्यतमा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, संघसंस्थाका प्रमुख, सञ्चारकर्मी लगायतले आ—आफ्नो भनाई राखेका थिए ।

साे अवसरमा भरखरै दाङमा सरूवा भएर अाएका नयाँ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाइ कार्यक्रमका प्रमुख अतिथी, सभापति,  अतिथी र सहभागी सबैले फूलमाला र टिका तथा खाँदा लगाएर स्वागत गरेका थिए ।

मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्य तथा मञ्चका सदस्य विरेन्द्र गिरीको स्वागत गीतबाट सुरु भएको कार्यक्रमकमा मञ्चका मुख्य संरक्षक महेश रिजालले विषय वस्तुबारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे