दाङकाे भालुवाङमा “नमुना युवा संसद अभ्यास कार्यक्रम” शुरु : १२ जिल्लाका युवाको सहभागिता



दाङकाे भालुवाङमा “नमुना युवा संसद अभ्यास कार्यक्रम” शुरु : १२ जिल्लाका युवाको सहभागिता

देउखुरी १४ बैशाख ।  दाङकाे भालुवाङमा “नमुना युवा संसद अभ्यास कार्यक्रम” सुरु भएको छ। प्रदेश युवा परिषद् लुम्बिनीको आयोजनामा आज साेमबार देखि “नमुना युवा संसद अभ्यास कार्यक्रम” सुरु भएको हाे ।

कार्यक्रमकाे उद्धाटन लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले युवा उमेर जोश, जागर र सिर्जनशीलताको समय भएकाले यसलाई सही दिशामा प्रयोग गर्न आवश्यक रहेको बताए । उनले सरकारले युवामा गरेको लगानीको प्रतिफल दिन युवाहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै सक्रिय सहभागिताका लागि आग्रह गरे । युवाहरु युद्ध नभई बुद्ध बन्नु पर्ने बताउँदै मन्त्री पाण्डेयले अब  युवाहरुले सकरात्मक र सिर्जनशिल हुनुपर्ने बताए ।

परिषद्का उपाध्यक्ष हंसराज खनालकाे अध्यक्षता एवम् लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बाेल्दै परिषद्का सदस्य राधा बस्नेतले युवाको बढ्दो वैदेशिक पलायन रोक्ने लक्ष्यसहित परिषद्ले विभिन्न कार्यक्रम अघि बढाइरहेको जानकारी दिइन् । उनले युवालाई स्वदेशमै टिकाउन र उत्पादनशील बनाउने सीप विकासका कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै नमुना युवा संसद अभ्यासले युवालाई भविष्यमा नेतृत्व तहसम्म पुग्न मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरिन्।

यसैगरी परिषद्का सचिव खिमबहादुर कुँवरले युवामा रहेको ऊर्जा, सिर्जनशीलता र दृष्टिकोणलाई सही दिशा दिन सकिए देशको विकासले नयाँ गति लिन सक्ने बताए। उनले केवल जोश मात्र पर्याप्त नहुने उल्लेख गर्दै ज्ञान, अनुशासन, सहिष्णुता र जिम्मेवारी पनि उत्तिकै आवश्यक रहेको धारणा राखे ।

परिषद्का उपाध्यक्ष हंसराज खनालले नमुना युवा संसद अभ्यास कार्यक्रम युवाहरूका लागि नेतृत्व विकासको प्रभावकारी माध्यम भएको उल्लेख गरे । उनले यस्तो अभ्यासले युवामा नीतिगत सोच, तार्किक बहस र निर्णय क्षमता विकास गर्ने विश्वास व्यक्त गर्दै यसलाई निरन्तरता दिइने बताए ।

बैशाख १७ गते सम्म सञ्चालन हुने कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १६ देखि २४ वर्ष उमेर समूहका युवाहरूको उत्साहजनक सहभागिता रहेको छ। युवालाई लोकतान्त्रिक अभ्यास, नीति निर्माण प्रक्रिया तथा नेतृत्व विकासतर्फ अभिमुख गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको परिषद्ले जनाएको छ।

कार्यक्रममा सहभागी युवाहरूले संसदको कार्यप्रणाली, नीति निर्माण प्रक्रिया, बहस गर्ने शैली तथा लोकतान्त्रिक संस्कारबारे व्यावहारिक अनुभव हासिल गर्नेछन्। आयोजकका अनुसार यो कार्यक्रम केवल अभ्यास मात्र नभई भोलिका सक्षम, जिम्मेवार र सचेत नागरिक तथा नेतृत्व निर्माण गर्ने सशक्त आधारशिला हो। प्रदेश युवा परिषद् लुम्बिनीले प्रत्येक वर्ष निरन्तर रूपमा सञ्चालन गर्दै आएको यो कार्यक्रम युवालाई नेतृत्व तहसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे