राप्ती गाउँपालिकालाई निशुल्क रुपमा घर नक्सा अभिलेखिकरण गर्न राष्ट्रिय जनमोर्चाको माग



राप्ती गाउँपालिकालाई निशुल्क रुपमा घर नक्सा अभिलेखिकरण गर्न राष्ट्रिय जनमोर्चाको माग

भालुवाङ २ मंसिर । राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिकाले राप्ती गाउँपालिकालाई निशुल्क रुपमा घर नक्सा अभिलेखिकरण गराउन राजमोको माग गरेको छ ।  राप्ती गाउँपालिकाले यस आर्थिक वर्ष देखि घर नक्सा अभिलेखिकरणका लागि शत प्रतिशत जरिवाना तोकेको भन्दै राजमो राप्तीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बिगत बर्ष देखि विश्वभर फैलिएको कोरोना भाइरस जस्तो खतरनाक रोगबाट लाखौँ नेपालीहरु पिडित भएको अवस्थामा स्थानीय सरकारको रुपमा रहेको राप्ती गाउँपालिकाले जनताको सहयोगी बन्नुको साटो तीन गुणा बढी कर थुपारेको भन्दै राजमो राप्तीले बिहिबार राप्ती गाउँपालिकालाई ज्ञापन—पत्र बुझाएको छ ।

राजमो राप्तीले ज्ञापनपत्र बुझाउँदै गत वर्षकै मालपोतको दर कायम गर्न र निशुल्क रुपमा घर नक्सा अभिलेखिकरण गराउन र सबैलाई करको दायरामा ल्याउन माग गरेको छ ।  राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका अध्यक्ष केशवराज खनालको नेतृत्वमा गएको टोलीले उक्त ज्ञापन—पत्र राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई बुझाएको छ ।

ज्ञापन—पत्र बुझाउँदै राजमो राप्ती गाउँपालिका अध्यक्ष खनालले आफ्नो पार्टीले उठाएको माग तत्काल राप्ती गाउँपालिकाले लागु नगरे संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएका छन् । उनले कोरोनाबाट बिश्वको अर्थतन्त्र नै विकराल भएको अवस्थामा स्थानीय सरकार जनताको जिवीकोपार्जनमा आई परेको समस्याको समाधान गर्नुको साटो जनता माथि आर्थिक भार थुपारी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति नै बितृष्णा ल्याउन खोजेको आरोप लगाएका छन् ।

साथै राजमो राप्तीले राप्ती गाउँपालिकालाई कृषि योग्य जमिन जमिनलाई चक्लाबन्दी गरी कृषि पेसामा संलग्न किसानहरुलाई तालिम तथा सिँचाई, बीउमल र आधुनिक कृषि औजारको व्यवस्था गरी उत्पादन भएको अन्नबाली लगायतका कृषि उपजहरु खरिद गरी डिपो स्थापना गरी सहुलियतदर जनताहरुलाई खाद्य सामाग्री उपलब्ध गराउन सुझाब समेत दिएको छ ।

ज्ञापन—पत्र बुझ्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले राष्ट्रिय जनमोर्चाले उठाएको माग प्रति सकरात्मक रहेको बताउँदै यस बिषयलाई अब हुने गाउँपालिकाको हिउँदै अधिवेशनबाट निकास निकाल्ने बताए ।

ज्ञापन—पत्र बुझाउन अखिल नेपाल किसान महासंघका केन्द्रिय कोषमध्यक्ष प्रेमनारायण आचार्य, राजमो दाङ जिल्ला सदस्य ठाकुरप्रसाद आचार्य, किसान महासंघका जिल्ला कोषाध्यक्ष माधवप्रसाद आचार्य, राजमो राप्ती गाउँकमिटी सदस्य गिरबहादुर पौडेल, अखिल नेपाल उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष जगतप्रसाद पोख्रेल, अखिल नेपाल महिला संघकी जिल्ला सदस्य बिजुला केसी, अनेमासंघ राप्ती गाउँकमिटी अध्यक्ष कृष्ण पोख्रेल, राजमोका रामकृष्ण आचार्य, र प्रेम खनाल लगायत २० जना बढी नेता कार्यकर्ताहरुको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे