देउखुरीमा प्रदेशसभा भवन निमार्ण कार्य तिव्र गतिले हुँदै, डेढ महिना भित्र भवन बनाउन निर्देशन
भालुवाङ ११ कार्तिक । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ को राप्ती प्राविधिक शिक्षालय मौरीघाटमा लुम्बिनी प्रदेशको सभाहल निमार्ण कार्य धमाधम सुरु भएको छ । प्रदेश सभाको भवन निर्माण हुँदा हुँदै एकाएक निमार्णको काम ठप्प भएपछि निमार्ण स्थल सुनसान रहेको थियो ।
तर केहि दिन अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सभाहल निमार्णमा भएको ढिलाईका विषयमा निमार्ण चासो लिदै अवको डेढ महिनामा काम सम्पन्न गर्न निर्देशन दिएपछि निमार्ण कम्पनीले २ सय बढी कामदार राखेर निमार्णको कामलाई तिव्रता दिएको छ । राती र दिउँसो गरी ४८ घण्टा सम्म कामदार खटाएर प्रदेशसभा भवन निर्माणको काम भइरहेको छ ।
अबको डेढ महिना भित्र प्रदेशसभा भवन सरकारलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको निर्माण व्यवसायी एमएस ड्राइगन बस्नेत जेभिका सञ्चालक यज्ञबहादुर केसीले बताए । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा ५ करोड २१ लाखको लागतमा निर्माण गर्न थालेको प्रदेशसभा भवनको निर्माण कार्यले गति लिएको छ ।
लुम्बिनी प्रदेश सरकारले हिउँदे अधिवेशन स्थायी राजधानीमा आयोजना गर्ने तयारी गरेको छ । केही दिनअघि प्रदेशसभा भवन निर्माण भैरहेको स्थलमा अनुगमनको लागि आएका मुख्यमन्त्री केसीले काम नगर्ने निर्माण व्यवसायीलाई कानुनी कारबाही गर्न समेत निर्देशन दिएका थिए । छलफलपछि निर्माण व्यवसायीले डेढ महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएपछि अहिले भवन निर्माणको कामले तीव्रता पाएको हो । प्रदेशसभा भवन निर्माणको काम धमाधम भैरहेको प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरेले बताए ।
अहिले सम्म प्रदेशसभाको बैठक अस्थायी मुकाम बुटवलमा बस्दै आएको छ । राजधानी तोकिएको एक वर्ष पुगिसकेको छ । प्रदेश सरकारले राजधानी कार्यान्वयनको लागि गम्भीर रहेको जनाउ दिन अब आह्वान गरिने हिउँदे अधिवेशन स्थायी राजधानीमै बोलाउने तयारी गर्नु आफैमा सकारात्मक विषय हो ।
प्रदेशसभा भवनलाई विशेष रुपमा सिंगारिने र सोही भवनबाट प्रदेशसभाको बैठक सञ्चालन गर्ने योजना छ । सत्ता पक्ष दलका नेता र प्रतिपक्ष दलका नेतालाई आमने सामने राखेर बैठक सञ्चालनको नयाँ अभ्यास लुम्बिनी प्रदेशबाट गरिने छ ।


