तीन महिना सम्म पनि वर्तमान सरकारले मन्त्री मण्डल बिस्तार गर्न नसक्नु दुखद बिषय हो : नेपाली



तीन महिना सम्म पनि वर्तमान सरकारले मन्त्री मण्डल बिस्तार गर्न नसक्नु दुखद बिषय हो : नेपाली

भालुवाङ १५ असोज । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपालीले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन महिना सम्म पनि मन्त्री मण्डललाई पूणर्ता दिन नसक्नु दुखद बिषय भएको बताएका छन् । उनले पछिल्लो समयमा राजनितिक पार्टी भित्र पदकै लागि हुने होडबाजीले मन्त्री मण्डलले पूणर्ता पाउन नसक्दा देशमा ब्यापक भष्ट्राचारका गतिबिधि बढेको आरोप लगाए ।

राष्ट्रिय जनमोर्चा केन्द्रिय समितीद्धारा असोज ५ देखि २० गते सम्म देशब्यापी गणतन्त्र, राष्ट्रियता, स्वाधिनताको रक्षा र संघिताको खारेजी लगायतका बिषयमा बिरोधसभा कार्यक्रम अन्र्तगत आज शुक्रबार देउखुरीको सिसहनियाँमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै नेता नेपाली यस्ताे बताए ।

नेता नेपालीले भारतीय सेनाले महाकाली नदीको तुइन काटेर नेपाली नागरिक नदीमा खसेर मर्दा सम्म वर्तमान सरकार छिमेकी मुलक भारत संग कुरा समेत गर्न नसक्नु गम्भीर आपत्ति र लजास्पद बिषय भएको बताए ।

यी यस्ता गतिबिधिले पनि बर्तमान सरकार भारतीय बिस्तारबाद र अमेरिकी सम्राज्यबादको गुलाम भएको आरोप लगाए । भारतको दादागिरी बिरुद्ध नेपाल सरकार मौन बस्दा नेपालको राष्ट्रियता,स्वाधिनता र गणतन्त्र नै खतरामा परेको बताए ।

राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटीको आयोजनामा भएको बिरोधसभालाई अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रिय सदस्य केशवराज खनाल, राजमो दाङ जिल्ला सल्लाहकार नरबहादुर केसी, र राजमो राप्ती गाउँपालिका ५ नम्बर वडाध्यक्ष शमशेर केसी लगायतका बक्ताले बोलेका थिए ।

राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटी सदस्य छबिलाल पोख्रेलको अध्यक्षता एवम् राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपालीको प्रमुख आतिथ्यमा भएको बिरोधसभामा अखिल नेपाल किसान महासंघका राप्ती गाउँपालिका उपाध्यक्ष रामप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन राजमो राप्ती गाउँपालिका सदस्य गिरबहादुर पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे