धवलागिरि हिमालमा पहिलो पटक नेपाली महिलाको सफल आरोहण



धवलागिरि हिमालमा पहिलो पटक नेपाली महिलाको सफल आरोहण

काठमाण्डाै १५ असाेज । संसारको सातौं अग्लाे आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलो पटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने याे हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी छिन्।

काठमाण्डौको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन्। सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिइन्।

‘धवलागिरि हिमालमा नेपाली महिलाले पहिलो पटक आरोहण गरेका हुन्’, उनले भनिन्, ‘धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन।’श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरे/नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताइन् ।

पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गएकाे वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेकाे आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन्।

पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । शेर्पा (पथ प्रदर्शक) पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन् । पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार हुनुहुन्छ । उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमादब्लम हिमालको आरोहण गरेकी थिइन् ।

पूर्णिमाले आधार शिविर जानुअघि बेनीमा कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएकाले गएकाे याममा धवलागिरि आरोहण गर्ने लक्ष्य यसपालि पूरा गर्न लागेको बताउनुभएको थियो।​

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे